सोलुखुम्बु । शैक्षिक सत्रको शुरुमा किताब बोक्ने झोला पाएपछि दुर्गम सोलुखुम्बुका ४ विद्यालयका विद्यार्थी हर्षित भएका छन् । थुलुङ दूधकोशी गाउँपालिका वडा नं. २ र ३ का चार वटा विद्यालयका २५० जना विद्यार्थीलाई ओङ्छु शेर्पा ट्रष्टले झोला वितरण गरेपछि विद्यार्थीहरु उत्साहित भएका हुन् ।
अमेरिका निवासी खुम्बु पासाङल्हमू गाउँपालिकाको खरिखोलाका ओङछु शेर्पाले ट्रष्ट मार्फत जीवन ज्योति माध्यमिक विद्यालय, काँगेल आधारभूत विद्यालय, बागेश्वरी आधारभूत विद्यालय, शुशिला आधारभूत विद्यालय भोर्लेनीका विद्यार्थीहरुलाई पाठ्यपुस्तक बोक्ने झोला वितरण गरेको ओङ्छु शेर्पा ट्रष्टका कार्यकारी निर्देशक सनम शेर्पाले जानकारी दिनुभयो ।
टानका द्वितीय उपाध्यक्ष समेत रहनुभएका युवा पर्यटन व्यवसायी शेर्पाले दुर्गमका विद्यालयमा अध्ययन गर्ने बालबालिकाको शैक्षिक यात्रामा सानो सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै दुर्गमको शैक्षिक अवस्था माथि उकास्ने कार्यमा सबैसँग हातेमालो गर्ने बताउनुभयो ।

त्यस अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले दुर्गमका बालबालिकाको शिक्षा प्राप्तीका लागि धेरै कुराको आवश्यकता पर्ने भएकाले वर्षभरी पढ्ने पाठ्यपुस्तक सुरक्षाका लागि झोला पनि महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
‘गाउँघरका सामूदायिक विद्यालयमा अधिकाँश विद्यार्थी कमजोर आर्थिक अवस्थाको पृष्ठभुमिबाट आउने भएकाले यस्ता खालका साना साना सहयोगले पनि विद्यार्थी तथा अभिभावलाई उत्साहित बनाउने गर्दछ’, झोला वितरणपछि खुशी व्यक्त गर्दै एक अभिभावकले भन्नुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय समितिका सभापति कृष्णप्रसाद निरौला, सदस्य कर्मा शेर्पा, स्थानीय युवा तथा काँग्रेस नेता नवीन थापा, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य वावुराम आचार्यको समन्वयमा झोला वितरणको व्यवस्था भएको हो ।