काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मेवारपूर्ण व्यवहार अपनाउन आग्रह गरेका छन् । सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेकाले उत्तेजनापूर्ण अभिव्यक्ति दिन नहुने बताए ।
महामन्त्री थापाले प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीको कार्यक्रममा दिएका अभिव्यक्तिप्रति आपत्ति जनाए । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए । यसप्रकारको अभिव्यक्तिले लोकतान्त्रिक मर्यादा र शान्तिपूर्ण राजनीतिक प्रक्रियामा बाधा पुग्ने महामन्त्री थापाको भनाइ थियो ।
“हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन,” उनले भने, “यस्ता अभिव्यक्तिहरू पुनः नदोहोरियोस् भन्ने हाम्रो आग्रह छ ।”
