४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

संसद् बैठक भोलिसम्मका लागि स्थगित


१३ जेष्ठ २०८२, मंगलबार  

0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले आजको बैठक अवरोध गरेका हुन् ।

सो अवरोध बैठक खुलाउन सभामुख देवराज घिमिरले सत्ता र प्रतिपक्षी दलबीच सहमतिको प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन नसकेपछि आजको बैठक स्थगित गरिएको हो ।

सहमतिका लागि सभामुखले सत्ता र प्रतिपक्षी संयुक्त छलफल आयोजना गरेका थिए । उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी बैठकमा सबै दल आआफ्नो अडानमा कायम रहेकाले सहमति जुट्न नसकेको हो । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले सदनमा उपस्थित भएका गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिन पाउनु पर्ने अडान राखेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिएपछि सहमति जुट्न नसकेको हो।

भिजिट भिसाको नाममा करोडौं रुपैयाँ लिएर नेपाली युवालाई विदेश उडाउने गरेको घटना सार्वजनिक भएपछि त्यसमा गृहमन्त्रीसमेत संलग्न रहेको आरोप विपक्षीहरूले लगाएका छन् ।

सोही आरोपमा जवाफ दिन सदनमा उपस्थित भएका गृहमन्त्रीलाई बोल्न नदिई विपक्षीले लगातार अवरोध गरेपछि सभामुखले आधा घण्टा रोकेर सहमतिको प्रयास गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ११ : ३१ बजे