४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

पहिरोले सैनिक शिविर बगाउँदा सिक्किममा ३ सैनिकको मृत्यु, ६ बेपत्ता



नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी ३ सैनिकको मृत्यु हुनुका साथै अन्य ६ जना बेपत्ता भएको भारतीय सेनाले सोमबार जनाएको छ ।

आइतबार साँझ ७ बजे नेपाल र चीनसँग सीमा जोडिएको हिमाली राज्य सिक्किममा अवस्थित एक सैनिक शिविरमा भारी वर्षापछि आएको पहिरोले आक्रमण गर्दा ३ सैनिकको मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूको शव भेटिइसकेको छ । ४ जनालाई मलबामुनिबाट जीवितै उद्धार गरिएको छ, जसलाई सामान्य चोटपटक लागेको छ । तर ६ जना सैनिक अझै बेपत्ता छन् र खोज तथा उद्धार कार्य जारी छ ।

सेनाले सोमबार घटनाबारे जानकारी दिँदै मृतक सैनिकहरू हवल्दार लखविन्दर सिंह, लान्स नायक मनीष ठाकुर र पोर्टर अभिषेक लखाडा रहेको बताएको छ । यसैबीच, सिक्किमको लाचेन र लाचुंग क्षेत्रमा ३० मेदेखि अड्किएका एक हजारभन्दा बढी पर्यटकहरूलाई पनि आज उद्धार गरिएको छ ।

पूर्वोत्तर भारतमा अविरल वर्षा, बाढी र पहिरोबाट ३७ जनाको मृत्यु

सिक्किमसहित पूर्वोत्तर भारतका राज्यहरूमा ४ दिनदेखि लगातार भारी वर्षा भइरहेको छ । यसले ल्याएको बाढी र पहिरोका घटनामा अहिलेसम्म ३७ जनाको ज्यान गएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार असममा १० जना, अरुणाचल प्रदेशमा ९ जना, मिजोरममा ५ जना र मेघालयमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सिक्किममा अक्टोबर २०२३ मा बादल फाटेपछि टिष्टा नदीमा आकस्मिक बाढी आएको थियो, जसमा १८ जनाको मृत्यु भएको थियो ।

कम्तीमा ९८ जना बेपत्ता भएका थिए, जसमा भारतीय सेनाका २२ जना जवान पनि परेका थिए। उनीहरूको हालसम्म केही अत्तोपत्तो छैन ।

राहत र उद्धारमा सेना सक्रिय

पूर्वोत्तर भारतमा भइरहेको विपद् व्यवस्थापनका लागि भारतीय सेना, वायुसेना र असम राइफल्सका जवानहरू परिचालन गरिएको छ ।

असममा ३.६४ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन् । ब्रह्मपुत्र र बराकसहित १० वटा प्रमुख नदीहरू खतरा सीमा नाघेर बगिरहेका छन् ।

मणिपुरमा १९,००० भन्दा बढी मानिस प्रभावित, ३,३६५ घर क्षतिग्रस्त भएका छन् । त्रिपुरामा १०,००० भन्दा बढी मानिस प्रभावित छन् ।

मिजोरमको राजधानी आइजोलमा भारी वर्षाका कारण २ जुनमा सम्पूर्ण विद्यालय बन्द गराउने आदेश दिइएको छ ।

मिजोरममा ३० मे यताका २११ वटा पहिरोका घटना दर्ता भएका छन् ।

अन्य राज्यहरूमा पनि सतर्कता

राजस्थानका ३० जिल्ला र मध्यप्रदेशका ५० जिल्लामा भारी वर्षाको अलर्ट जारी गरिएको छ । बिहारको वैशालीमा आइतबार बेलुका आएको आँधी र वर्षाले घर भत्किँदा ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

बिहारका ९ जिल्लामा आँधी–हावाहुरीको चेतावनी दिइएको छ ।

सेनाले एक विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण आएको ठूलो पहिरो आइतबार साँझपख सेनाको क्याम्पमा खसेको जनाएको छ । सेनाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गरेको छ जसमा एक भवन अर्ध–जलमग्न भएको देखिन्छ ।

भारतमा मनसुनको मौसममा आकस्मिक बाढी आउनु सामान्य हो । योसामान्यतया जुनमा सुरु हुन्छ र सेप्टेम्बरको अन्त्यसम्ममा कम हुन्छ । दक्षिण एसियामा गर्मी बढ्दै गएको छ र हालैका वर्षहरूमा मौसमी अवस्थामा परिवर्तन आएको छ । एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ११ : १६ बजे