८ असार २०८३, सोमबार | Mon Jun 22 2026

गृहमन्त्री लेखकको स्पष्टोक्ति: राजीनामा होइन, संसदमा बोल्ने चाहना



काठमाडौं । भिजिट भिसा प्रकरणले तातेको राजनीतिक वातावरणबीच गृहमन्त्री रमेश लेखकले आफू राजीनामा नदिने अडान पुनः दोहोर्‍याएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफूले संसदमै बोल्न पाउने वातावरण तयार गर्न आग्रह गरे ।

समितिको छलफलमा विपक्षी सांसदहरुले मन्त्री लेखकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा देखिएको अनियमिततासम्बन्धी छानबिनको सन्दर्भ जोड्दै जिम्मेवारी लिनुपर्ने माग उठाएका थिए । विपक्षीले सरकार पक्षमै रहेकाहरूले विगतमा यस्ता घटनामा राजीनामा दिएका दृष्टान्त सुनाउँदै मन्त्री लेखकको राजीनामा माग गरेका थिए ।

तर मन्त्री लेखकले समितिमा राखिएको जिज्ञासामाथि जवाफ दिने इच्छा देखाउँदै भने, “यी प्रश्नहरू केवल समितिमा उठेका भए म यतै जवाफ दिँथें, तर सांसदहरूमा व्यापक जिज्ञासा देखिएकाले प्रतिनिधि सभामै आफ्नो भनाइ राख्न चाहन्छु ।”

Sagarmatha

उनले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमनका केही कर्मचारीमाथि अनुसन्धान गरिरहेको तथ्य स्वीकार्दै आफ्नो तर्फबाट संसदमै समग्र विवरण दिन तयार रहेको बताएका छन् । “हाउसमा बोल्न पाउँ, सबै प्रश्नको उत्तर दिनेछु,” मन्त्री लेखकको भनाइ थियो ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ५ : ०६ बजे