काठमाडौ । टोखा नगरपालिका ६.नं.वडा कार्यालयको आयोजनामा लागु औषध विरुद्ध सचेतनामूलक “मेरो कथा सुन्नहोला नत्र पछुताउनुपर्लाˮ शीर्षकको सडकनाटक मञ्चन भएको हो ।
लागु पदार्थ दुव्र्यसनी न्यूनीकरणको विषयमा तयार पारिएको उक्त सडक नाटकले किशोरकिशोरीहरु कसरी दुव्र्यसनमा फस्न सक्छन् र यसबाट कसरी बच्न सकिन्छ भन्ने मूल सन्देश बोकेको थियो । 
सो सडकनाटक प्रदर्शनमा टोखा नगरपालिका वडा नं. ६ का हरियाली बालक्लब, सूर्य डाँडा बाल क्लब, डाँफे बाल क्लब, डाँफे कोलनी बाल क्लब, सद्भाव बस्ती बाल क्लब लगायतका विभिन्न बाल क्लबका बालबालिका, वडा प्रतिनिधि तथा समाजसेवीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
सडकनाटक हेरेका तमाम बालबालिकाहरु लागु औषध विरुद्धको अभियानमा आफूहरु पनि संलग्न हुने बताएका थिए । सो सडकनाटकसँगै लागु औषध विरुद्ध सचेतना जगाउन नगरक्षेत्रका वडाटोल समाजमा पर्चा,पम्प्लेट वितरण सहित प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो ।
६.नं.वडा अध्यक्ष शान्ता खनालले बालमैत्री समाज निर्माणको यस अभियानमा सडकनाटक पनि महत्वपूर्ण माध्यम भएको बताइन् । उनले कलाकारहरुको जीवन्त अभिनय र नाटकको विषयले दर्शकको मन जितेको बताइन् ।

समाजेसेवी गणेश पराजुलीले यस खालको सचेतनामूलक सडकनाटक प्रत्येक स्कुल स्कुलमा देखाउनुपर्ने सुझाव दिए । उनले यस खालको कलामार्फत सचेतना अभियान दिगो तथा प्रभावकारी हुने बताए ।
सडकनाटक मञ्चनसँगै लागु औषध विरुद्धको सूचना लेखिएका पर्चा वितरण, प्रभात फेरी,वृक्षरोपण कार्यक्रमसमेत गरिएको थियो । “मेरो कथा सुन्नहोला नत्र पछुताउनुपर्लाˮ सडकनाटकको लेखन तथा निर्देशन कृष्णजित राई,नाटकको सह निर्देशन रिता थापाले गरेकी हुन् । सो लागु औषध विरुद्धको सचेतनामूलक सडकनाटमा जीवन थापा क्षितिज, सुरत विष्ट, सानो पाण्डे, इच्छा सिंह, आशिष खत्री, समिर आचार्य कलाकारहरुले जिवन्त अभिनय गरेका छन् । सो कार्यक्रम का सभापति ६.नं वडा अध्यक्ष शान्ता खनालले उपस्थित सबैजनालाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।









