२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

एमाले गम्भीर संकटमा, भविष्य अनिश्चित : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा (एमाले) गम्भीर राजनीतिक संकटमा फसेको टिप्पणी गरेका छन् । उनले पार्टीभित्रको अन्तरविरोध दिनानुदिन तीव्र बन्दै गएकाले यसको भविष्यबारे पूर्वानुमान गर्न सकिने अवस्था नरहेको दाबी गरे ।

शुक्रबार काठमाडौंमा आयोजित विद्यार्थी जिल्ला कमिटीको पाँचौं अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेलाई “मूल कम्युनिस्ट पार्टी” का रूपमा चिनिए पनि हाल त्यो गहिरो संकटमा परेको बताए ।

“एमाले पार्टीभित्र अन्तरविरोध बढिरहेको छ। अब त्यो पार्टी कुन दिशामा जाला भनेर सजिलै भन्न सकिने स्थिति छैन,” उनले भने ।
नेपालले पार्टीभित्र मौलाउँदै गएको अनुचित प्रवृत्तिप्रति चेतावनी दिँदै त्यसलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गरे। उनले व्यक्तिवाद, निम्न पुँजीवादी सोच र दक्षिणपन्थी प्रवृत्तिहरू कम्युनिस्ट आन्दोलनका लागि खतरनाक भएको उल्लेख गरे ।

“कुभलो चिताउने, अनुचित काम गर्ने, व्यक्तिवादी सोच बोकेकाहरू, चाहे जुनसुकै प्रवृत्तिमा होऊन्ती- सबैलाई परास्त गर्नैपर्छ,” अध्यक्ष नेपालको भनाइ थियो ।

सरकारको असफलता र अनिवार्य पतनको संकेत

देशको वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जनअपेक्षा अनुसार चल्न नसकेको आरोप लगाए । सरकारले न नीति लिएको छ, न जनहितमा काम गरेको भन्दै उनले सरकारलाई समर्थन गर्न नहुने स्पष्ट पारे ।

“सरकारले मुलुकलाई राम्ररी हाँक्न सकेको छैन । हामीले यस्तो सरकारलाई साथ दिने कुरै हुँदैन,” अध्यक्ष नेपालले भने, “यसको पतन अनिवार्य छ, खाली समय पर्खनु मात्र बाँकी छ ।”

उनले आफ्नो पार्टीले देशव्यापी संगठन सुदृढीकरण अभियान जारी राखेको बताए । उनका अनुसार दुई वटा प्रदेश बाहेक सबैमा पार्टी अधिवेशन सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : १९ असार २०८२, शुक्रबार  ९ : २२ बजे