काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी-पहिरोले प्रमुख राजमार्ग र कोरिडोरका ६ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध पारेको छ भने ५ स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
नेपाल प्रहरीले सोमबार बिहान ९ बजे सार्वजनिक गरेको विवरण अनुसार कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका विभिन्न खण्डमा सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ।
संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुणमा कोशी राजमार्ग पूर्ण अवरुद्ध छ। पाँचथरको फिदिम नगरपालिका-५ र हिलिहाङ गाउँपालिका-७ को संगमस्थल हेवाखोलामा बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग बन्द भएको प्रहरीले जनाएको छ। त्यसैगरी, पाँचथरकै तुम्वेवा गाउँपालिका-२ मा तमोर कोरिडोर बाढीले अवरुद्ध बनाएको छ।

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–३ तरङखोलामा आएको बाढीका कारण कालिगण्डकी कोरिडोर बन्द भएको छ। रोल्पाको थबाङ गाउँपालिका-१ र २ मा पहिरो खस्दा शहीद राजमार्ग र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजिगारमा बाढीले भेरी कोरिडोर पूर्ण अवरुद्ध बनाएको विवरणमा उल्लेख छ।
त्यस्तै, काठमाडौंको टोखा नगरपालिका-२ मा सडक क्षति हुँदा काठमाडौं-नुवाकोट सडकखण्ड एकतर्फी मात्र सञ्चालन भइरहेको छ। बागलुङको गलकोट नगरपालिका-११ काउसे र बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले क्रमशः मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोर पनि एकतर्फी सञ्चालनमा आएका छन्।
रोल्पाको परिवर्तन गाउँपालिका-५ ग्रामजिम र भुर्तिबाङमा पहिरोले शहीद राजमार्ग एकतर्फी सञ्चालनमा राखिएको प्रहरीले जानकारी दिएको छ।
सडक अवरुद्ध भएका क्षेत्रमा सम्बन्धित निकायले मर्मत तथा खोल्ने काम जारी राखेको जनाइएको छ। प्रहरीको आग्रहअनुसार यात्रुहरू र सवारी साधनका चालकहरूले यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा वैकल्पिक मार्गको प्रयोग गर्न सल्लाह दिइएको छ।







