३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा बानियाँको जित


१४ श्रावण २०८२, बुधबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

प्रदेशसभा सचिवालय परिसरमा आज बुधवार भएको दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामा तामाङलाई पराजित गरेका हुन् । बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत ल्याउन सके । १ मत बदर भएको छ । १३ साउन मंगलबार आफू विरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताको हैसियत गुमाएका थिए । अविश्वासको प्रस्तावको पक्षमा २२ मत परेको थियो ।

लामाले दलको नेताको हैसियत गुमाएपछि आज बुधवार दलको नेता चयनका लागि निर्वाचन भएको हो । बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।

बानियाँ र लामा संसदीय दलको नेतामा दोस्रो पटक भिडेका हुन् । प्रदेश सभाको दोस्रो कार्यकालमा पहिलो पटक १३ पुस २०७९ मा संसदीय दलको निर्वाचन हारेका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याए ।

लामा र बानियाँ दोस्रो पटक दलको नेताका लागि निर्वाचन लडेका हुन् । ४ मंसिर २०७९ मा भएको प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि १३ पुस २०७९ मा भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।

 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १० : ५२ बजे