२४ माघ २०८२, शनिबार | Sun Feb 8 2026

इजरायल-हमास युद्धविराम प्रयास असफल : हमासले हतियार नबिसाउने अडान



काठमाडौं । प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायल र हमासबीच जारी युद्ध रोक्ने प्रयास फेरि असफल भएको छ। हमासले स्पष्ट रुपमा भन्यो- जबसम्म प्यालेस्टाइन स्वतन्त्र र सम्प्रभू देश बन्ने सुनिश्चितता हुँदैन, तबसम्म हतियार त्याग्दैनौं।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको युद्धविराम प्रस्तावमा इजरायलले हमासलाई हतियार त्याग्नुपर्ने मुख्य सर्त राखेको थियो। तर हमासले उक्त प्रस्ताव अस्वीकार गरेको छ ।

इजरायल र हमास दुवै आफ्ना पुराना अडानमै अडिग रहेका कारण पछिल्लो समय चलिरहेको वार्ता पनि रोकिएको बताइएको छ । केही दिनअघि अरब मुलुकहरूले पनि हमासलाई हतियार बिसाउन र गाजाको नियन्त्रण छोड्न आग्रह गरेका थिए ।

यता फ्रान्स, क्यानडा र बेलायतलगायतका केही पश्चिमा मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र देशको रुपमा मान्यता दिने योजना बनाइरहेका छन् । बेलायतले त अझै पनि चेतावनी दिएको छ-यदि इजरायलले आगामी सेप्टेम्बरसम्म कुनै लचिलो निर्णय नगरे, प्यालेस्टाइनलाई देशका रुपमा मान्यता दिनेछौं ।

युद्ध रोक्ने पहल भइरहे पनि हमासले बारम्बार आफ्नो अडान दोहोर्याउँदै आएको छ-स्वतन्त्र र सम्प्रभू प्यालेस्टिनी राष्ट्र स्थापनाबिना हतियार नछोड्ने । यसैबीच गाजामा हिंसा र द्वन्द्वको अवस्था कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ११ बजे