पर्सा । पर्सा जिल्ला कारागारका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि उनका आफन्तले वीरगञ्जमा प्रदर्शन गरेका छन् । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद सजाय भोगिरहेका साहको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार साह व्यायाम गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका थिए । तुरुन्तै नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि नारायणी अस्पताल अगाडि आफन्तले टायर बालेर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले कारागार प्रशासनको लापरबाहीका कारण साहको मृत्यु भएको आरोप लगाएका छन् । अहिले प्रहरीले प्रदर्शनकारीसँग छलफल गरिरहेको जनाएको छ ।








