काठमाडौं । पछिल्ला दिनयता देशका विभिन्न भागमा निरन्तर भइरहेको वर्षा शनिबारदेखि केही कम हुने मौसमविद्हरूको अनुमान छ ।
बरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज शुक्रबार अधिकांश स्थानमा मध्यम वर्षा हुनेछ भने कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । आज राति भने कोशी र सुदूरपश्चिममा मात्र भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।
उनले शनिबारदेखि मनसुनको प्रभाव कम हुने भन्दै मौसममा सुधार हुने अपेक्षा व्यक्त गरिन् । अर्का मौसमविद् गोविन्द झाले पनि शनिबारदेखि मनसुनी गतिविधि तुलनात्मक रूपमा कमजोर हुने जानकारी दिए ।

वर्तमानमा मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) र पूर्वतर्फ सरदर स्थानमै (भारततर्फ) रहेको छ । साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ प्रवेश गरिरहेकाले पछिल्ला दिनमा निरन्तर पानी परिरहेको मौसमविद्हरूले बताए ।







