काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) सरकारको सम्पर्कमा आएको छ । ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सञ्चार मन्त्रालयमा आधिकारिक पत्राचार गरिएको हो ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ट्विटरबाट आज इमेल प्राप्त भएको पुष्टि गरे । ठाकुरका अनुसार सिंगापुरबाट मार्कको नाममा आएको इमेलमा दर्ता प्रक्रिया र आवश्यक डकुमेन्टका बारेमा सोधिएको थियो । इमेल प्राप्त हुनासाथ जवाफ पठाइ सकिएको उनले जानकारी दिए ।
‘हामीले आवश्यक डकुमेन्टको विवरणसहित जवाफ पठाइसकेका छौं,’ उनले भने । डकुमेन्ट प्राप्त भए लगत्तै आफूहरूले तत्काल सूचीकरण गर्ने उनको भनाइ छ । फेसबुकबाट भने आधिकारिकरुपमा कुनै पनि पत्राचार नभएको ठाकुरले जानकारी दिए ।

‘फेसबुकले व्यक्तिगत तवरमा कसैसँग सम्पर्क गर्यो होला, तर आधिकारिरुपमा हामीलाई केही पनि आएको छैन,’ उनले भने ।







