काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले समानुपातिकतर्फको बन्दसूची बुझाएर पुसको तेस्रो साता महाधिवेशन गर्नु पर्ने विचार व्यक्त गरेका छन्।
शुत्रबार बिहान विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपत्यकामा उपलब्ध आफूनिकट जिल्ला सभापतिहरूसँगको छलफलमा कोइरालाले यस्तो विचार व्यक्त गरेका हुन्।
‘मेरो पहिलो माग निर्वाचन अगाडि नियमित महाधिवेशनले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने हो,’ छलफलमा सहभागी एक जिल्ला सभापतिले भने, ‘बरू, महामन्त्रीले प्रस्ताव गरेको कार्यतालिका एक साता सारेर पुसको २५ मा समानुपातिकको लिस्ट बुझाइसकेपछि महाधिवेशन गर्दा हुन्छ।’

ती नेताका अनुसार कोइरालाले २१ फागुनको निर्वाचनमा जाँदा नयाँ नेतृत्व लिएरै जानुपर्ने कुरामा आफू स्पष्ट रहेको बताएका छन्।
बैठकमा कोइरालाले नियमित वा विशेष महाधिवेशन भन्ने निर्णय जारी केन्द्रीय कार्यसमिति बैठकले नै निर्णय गर्नु पर्ने बताएका थिए। ‘नियमित महाधिवेशन गर्नुभएन भने १७ (२० अनुसार साथीहरूले विशेष महाधिवेशनका लागि जुन हस्ताक्षर गर्नुभएको छ, त्यो बाध्यकारी छ। त्यो कार्यान्वयन गर्नैपर्छ। त्यसको पनि केन्द्रीय समितिले निर्णय गरोस् भन्ने मेरो चाहना हो,’ कोइरालाको भनाइ उद्धृत गर्दै केही जिल्ला सभापतिले भने।
केन्द्रीय समितिले महाधिवेशनको निर्णय नगरे र समानान्तर भेला गरिए पार्टीलाई संकटमा पार्ने उनले बताए। पार्टीभित्रको वर्तमान संकट समाधान गर्न सबै नेतासँग छलफल गर्ने बताएका कोइरालले पार्टीलाई एकजुट बनाएर लैजान भूमिका खेल्ने बताएका थिए।
‘मभन्दा सिनियर नेता शेरबहादुरजी सहित सबैसँग मैले संवाद गर्छु। पार्टीलाई मिलाएर लैजानुछ। म बोलचाल बन्द गर्दिनँ, मेरोविरूद्ध गयो, मलाई धोका दियो भनेर म भन्दिनँ। बूढा भए पनि सिनियर नेताका दुई भोट होलान्, उहाँहरूको योगदान होला । उमेर र राजनीतिमा म भन्दा सिनियर सबैसँग म संवाद गर्छु, कोइरालाले भने, ‘पार्टीलाई एकजुट बनाएर लैजान सकियोस् । निर्वाचनभन्दा अगाडि नयाँ नेतृत्व ल्याउन सकियोस्।’
छलफलमा रूपन्देही, चितवन, खोटाङ, नुवाकोट, धादिङलगायतका जिल्ला सभापतिहरू, केही पूर्वजिल्ला सभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारीहरूसँगै केन्द्रीय सदस्य टेकप्रसाद गुरूङ र आफू सहभागी भएको केन्द्रीय सदस्य डा। गोविन्दराज पोखरेलले जानकारी दिए।







