२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

सडकमै अलपत्र थियो १० दिन सम्म महिलाको शव


९ मंसिर २०८२, मंगलबार  

0
Shares

काठमाडौं । बालाजुमा गत शनिबार मृत भेटिएकी माया भनिने आयुषा मगरको १० दिन पहिला नै हत्या गरेर फालिएको खुलेको छ । आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा १० दिन पहिला नै हत्या गरेर सडकमा शव फालेको खुलेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अहिले हत्या आरोपमा सूर्य थापा मगरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सूर्यले प्रहरीसमक्ष ती महिलाको हत्या २६ कात्तिकको राति नै गरेर त्यतिबेलै शवको व्यवस्थापन गरेको बताएका छन् ।

तर १० दिनसम्म सडक किनारामै शव हुँदा समेत कोही कसैले पनि थाहा पाएनन् । टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकको सडक किनारमा सूर्यले आयुषाको शव फालेका थिए ।

२६ कात्तिकको राति फालेको उक्त शव १० दिनपछि ६ मंसिरमा मात्रै स्थानीयले थाहा पाएका थिए । यही बीचमा बन्चरेडाँडामा फोहर फाल्न अवरोध भएपछि फोहर सडकमै थुप्रिने भएकाले स्थानीयले पनि उक्त थुप्रोलाई फोहर भनेर सम्झेको प्रहरीलाई बताएका छन् ।

शनिबार भने टोलमा सरसफाइ कार्यक्रम थियो । सरसफाइ गर्ने क्रममा उक्त फोहरको थुप्रो भनेर फ्ँयाक्न खोज्दा निकै गह्रौं भएपछि शंका लागेर खोलेर हेर्दा महिलाको शव भेटिएको थियो ।

त्यसपछि बल्ल स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको १० दिनपछि बल्ल प्रहरीले शव भेट्टाएर अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उक्त शव सड्न थालेकाले केही पूरानो रहेको प्रहरीले आशंका गरेको थियो । अनुसन्धानको क्रममा उक्त शव २६ कात्तिकमै हत्या गरेर फालिएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ९ : ०५ बजे