२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सैद्धान्तिक र वैचारिक छलफल गरे,नेकपा चार टुक्रा हुन्छ : घनश्याम भूसाल


११ मंसिर २०८२, बिहिबार  

0
Shares

काठमाडौं । एकीकृत समाजवादी पुनर्गठन अभियानमा लागेका नेता घनश्याम भूसालले सैद्धान्तिक र वैचारिक छलपल गरेमा नेकपा चार टुक्रा हुने बताए । एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको एकता अराजनीतिक र असैद्धान्तिक भएको बताएका छन् ।

एमालेबाट अलग भएको औचित्य पुष्टि नहुँदै माओवादीसँग एकता गर्नु अवसरवाद भएको उनको निष्कर्ष छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता भूसालले सत्ता मोह र केही नेताको कुर्सी सुरक्षित गर्न मात्र एकता गरिएको आरोप लगाए ।

माओवादीसँगको एकता प्रक्रियामा असन्तुष्टि राख्दै एकीकृत समाजवादी पुनर्गठनमा लागेका नेता भूसालले आफूले पार्टीभित्र वैचारिक र सैद्धान्तिक बहस गर्न खोज्दा महत्व नपाएको गुनासो गरे ।

उनले भने, ‘यो एकता कतातिर गयो भन्दाखेरि नेकपा एमालेभन्दा बाहिर अर्को कुनै शक्ति छ, ध्रुव छ भनेर देखाउने र त्यसपछाडि त्यै एमालेसँग वा कांग्रेससँग वा अरू कसैसँग बार्गेनिङ गर्ने । सत्ताका लागि सौदेबाजी गर्ने र केही नेताहरूको उम्मेदवारी सुनिश्चित गर्ने, आउने संसद्‌मा तिनको सिट सुरक्षित गर्ने बाहेक यो एकताको कुनै राजनीतिक आधार छैन ।’

उनले नेताले जतिसुकै ठूलो अपराध गर्दा पनि बहुमतमा रहने कस्तो पार्टी निर्माण गरियो रु भनेर प्रश्न गरे ।

नाम नलिएरै भूसालले बहुदलीय जनवाद, महाकाली सन्धि, एमसीसी जस्ता मुद्दामा बहस गर्दाका दिन नेपाली कम्युनिस्ट पार्टीमा फुट सुरु हुने बताए ।

‘बहुदल, बहुदलीय जनवाद वा यस्ता प्रश्नमा त्यहाँ छलफल सुरु भयो भने उहाँहरूको झगडा सुरु भइहाल्छ, क–कसको मैले भन्न पर्दैन, महाकाली सन्धि के हो, एमसीसी के हो भनेर भन्यो भने त्यहाँ कुटाकुट भइहाल्छ, त्यहाँ घाँटी कोराकार सुरु भइहाल्छ’, उनले भने ।

नेता भूसालले सैद्धान्तिक मुद्दामा बहस सुरु हुँदाका दिन प्रचण्ड र माधव नेपाल लगायतका बीच एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टी चार टुक्रा हुने दाबी गरे ।

उनले भने, ‘अब हाम्रो क्रान्तिको बाटो के हो, अरु यस्ता तमाम प्रश्नमा, सैद्धान्तिक प्रश्नमा, वैचारिक प्रश्नमा छलफल हुनेबित्तिकै त्यो चार टुक्रा हुनेवाला छ ।’

एकता टिकाइराख्न प्रचण्ड र माधव नेपाल लगायतका नेताबीच वैचारिक र सैद्धान्तिक बहस नै नगर्ने सहमति भएको हुनसक्ने भन्दै भूसालले कटाक्ष गरे ।

‘त्यो एकता टिकाइराख्नका लागि एउटा शर्त सम्भवतस् उहाँहरूले तयार गर्नुभएको छ कि कसैले राजनीतिक, सैद्धान्तिक कुरा नगर्ने, के गर्ने भन्दा चुनावको कुरा गर्ने, एकताको कुरा गर्ने, ठूलो भयौं भन्ने कुरा गर्ने, यो दुई–तीन वटा कुरा गर्ने बाहेक केही पनि नगर्ने भएपछि हामी द्विविधामा रह्यौं,’ उनले भने ।

विगतमा एमालेमा उठाएका सैद्धान्तिक प्रश्न एकीकृत समाजवादीमा पनि बल्झिएको उनको भनाइ छ ।

‘हिजो नेकपा एमालेभित्र जसरी छलफल गर्दथ्यौं, विचारको, सिद्धान्तको, संगठनको जुन कुरा गर्दैथियौं त्यही प्रश्न फेरि नेकपा एकीकृत समाजवादीमा आएपछि र त्यहाँ पनि त्यही छलफलमा कुरा मिलेन,’ उनले भने ।

नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व जनआंकाक्षा पूरा गर्न असफल भएको बताउँदै भूसालले प्रचण्ड र माधव नेपालबीचको एकता गिरोह पालेर सत्ता दोहन गर्ने मोहले सम्भव भएको दाबी गरे ।

‘क्रान्ति गर्ने हो रु वा क्रान्तिका नाममा दलाल पुँजीवादसँग उठबस गर्ने र सत्ताभोग गर्ने हो सत्तादोहन गरेर गिरोह पाल्ने, पार्टीलाई गिरोह बनाउने हो अथवा साँच्चै पार्टीलाई रुपान्तरणकारी पार्टी बनाउने हो रु बहस त्यो हो, राजनीतिक हिसाबले बहस त्यो हो, त्यो बहसमा हामी टाउको गन्ने कुरामा पराजित भयौं, हामी अल्पमतमा पर्‍यौं र हामी त्यो एकतामा सहभागी भएनौं,’ उनले भने ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १० : ०५ बजे