६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

हाम्रो अस्तित्व नाटकमा मौलिक पहिचानको खोजी


२१ मंसिर २०८२, आइतबार  

287
Shares

काठमाडौं । भाषा रहे संस्कृति रहन्छ, संस्कृति रहे आफ्नो पहिचान रहन्छ भन्ने मूल मर्म बोकेको ‘हाम्रो अस्तित्व’ शीर्षकको नाटक काठमाडौको टोखा नगरपालिका स्थित नेपाल मातृगृहको नाटकघरमा मञ्चन भएको छ ।
ग्लोबल भिलेजको रुपमा विकसित हुँदै गएको वर्तमान परिवेशमा नेपालको आफ्नो मौलिक भाषा, संस्कृति, रीतिरिवाज मात्र नभएर खानपान, भेषभूषा,रहनसहनमा समेत विदेशी प्रभावले नकारात्मक असर पारेको विषय सो नाटकले उठाएको छ ।
हाम्रा बालबालिकालाई घर परिवार र विद्यालयमा समेत नेपाली भाषलाई वेवास्ता गरिरहेको, अंग्रेजी भाषाको प्रयोगले आफ्नो गरिमा बढ्ने मनोविज्ञानले क्रमशः नेपाली भाषा, कला, संस्कृति भुलेर विदेशी संस्कृतिलाई भित्र्याउँदै गएको कटु यथार्थ सो नाटकमा जीवन्त रुपमा प्रस्तुत गरिएको छ ।
दर्शकहरुको सकारात्मक प्रतिक्रियाले यस खालका नाटकहरु निरन्तर मञ्चन गरिरहने विचार रहेको सो नाटककी लेखिका शोभा राइले बताइन् । अनेकतामा एकताको देशप्रेमी भाव झल्किने प्रस्तुत नाटकमा अधिकांश बालकलाकारहरुको अभिनय रहेको थियो । शोभा राईलिखित सो नाटकलाई सरस्वती अधिकारीले निर्देशन गरेकी हुन् । उक्त नाटकमा कलाकारहरुमा स्मिता ढकाल, नवीन महरा, काली किरण, सदिक्षा बसेल, रोशिका मगर, लिजा मगर, मिङ्मा नोर्बु शेर्पा, अभिषेक खाती, कृष थापा, सुकिम राई, सागर बुढा मगर, साजन कुमार राम, प्रकृति राई, जेनिश कार्की, आर्यन आलमले जीवजन्त अभिनय गरेका छन् । उक्त नाटको प्रकाश परिचालनमा अजय घलान र ध्वनिमा सुदिप रौँतल छन् भने व्यवस्थापनमा सम्झना श्रेष्ठ, अञ्जु बराल र शुष्मा बम्जन रहेका छन् । नेपाल नाट्यशाला र नेपाल मातृगृहको संयुक्त आयोजना उक्त नाटक मञ्चन भएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ११ : ३५ बजे