काठमाडौं । नवनियुक्त मन्त्री महावीर पुनले आफू मन्त्रालयमै सुत्ने बताएका छन् । सरकारले तत्काल क्वार्टर दिने अवस्था नभएको बारे आफूलाई थाहा भएको बताउँदै उनले आफू मन्त्रालयमै सुत्ने बताएका हुन् ।
मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्रालयमै सुत्ने र बस्ने बताए । ‘यहीँ सुत्ने हो । यहीँ बस्ने हो । सरकारल क्वार्टर दियो भने जाने हो । सरकारले तुरुन्तै क्वार्टर दिनेवाला पनि छैन त्यो मलाई थाहा छ,’ उनले भने,’ क्वार्टरमा भन्दा यहीँ बस्न पाएँ भने खुसी । जाँगर चले काम गर्ने हो । नभए सुत्ने हो । अनि जाँगर चल्छ फेरि उठेर काम गर्ने हो । मेरो तरिका यो छ ।
उनले आफू ५ वर्ष मन्त्री भएर नबस्ने पनि बताए । मैले अब प्रधानमन्त्रीज्यू र जनताहरूलाई भन्छु- ‘म धेरै बस्दिनँ । बढीमा ३ वर्ष बस्छु । ३ वर्षमा ५/६ वर्षमा गर्ने काम सकेर राम्रो जग बसालेर युवालाई दिने हो । देश बनाउने भनेको युवालाई दिने हो,’ ठट्यौली शैलीमा उनले भने, ‘म पनि ७२ वर्षको युवा हो । म जोश जाँगरले ३० वर्षको हुँ भनिरहेकै छु ।’








