काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता केन्द्रित राजनीतिका कारण कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको स्वीकार गरेका छन्।
‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले सरकारमा जाने उद्देश्यमा मात्र सीमित नभई आन्दोलन र संघर्षलाई प्राथमिकता दिनुपर्ने बताए।
उनले उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको मुद्दामा आधारित संघर्षमार्फत रूपान्तरणको आधार तयार गर्नुपर्नेमा जोड दिए। विगतका सहकार्य र एकताबाट शिक्षा लिएर कमजोरी नदोहोर्याउँदै कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र पुनर्गठन अघि बढाउन उनले आह्वान गरे।








