१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

बंगालको खाडीमा विकसित प्रणालीको संयुक्त प्रभावको सम्भावना, २९ जिल्ला जोखिममा पर्ने पूर्वानुमान


९ कार्तिक २०८३, आइतबार  

0
Shares

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ । सो वर्षाले हिमाली जिल्ला मनाङसहित कम्तीमा २९ जिल्ला बढी प्रभावित हुने प्रारम्भिक आकलन छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलको मौसम विश्लेषणअनुसार, सो प्रणालीको प्रभावले तीन–चार दिनसम्म पानी पर्ने र केही स्थानमा भारी वर्षा पनि हुनसक्ने सम्भावना छ ।

भारतको आन्ध्र प्रदेश आसपास हुँदै नेपालतर्फ अघि बढ्ने सो प्रणालीको प्रभावले बिहीबार रातिदेखि वर्षाको गतिविधि थप बढ्ने पूर्वानुमान छ ।

Sagarmatha

अहिलेको प्रारम्भिक आकलनअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी हुनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने सम्भावना छ ।

नेपालको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्ने जनाएको छ । तर वर्षाको मात्रा र जोखिम क्षेत्र भने महाशाखाले सार्वजनिक गरिसकेको छैन ।

डा। पोखरेलले भने जोखिम नक्सा सार्वजनिक गर्दै कात्तिक १२ देखि १५ गतेसम्मको अवधिमा केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने सम्भावना औंल्याएका छन् ।

उनले प्रस्तुत गरेको नक्सामा लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लासहित २९ जिल्लामा तुलनात्मक रूपमा बढी जोखिम हुन सक्ने देखाइएको छ ।

यद्यपि, अहिलेको पूर्वानुमान प्रारम्भिक भएकाले मौसमी प्रणालीको मार्ग, वर्षाको मात्रा र बढी जोखिममा पर्ने जिल्लाहरू परिवर्तन हुन सक्ने डा। पोखरेलले बताएका छन् ।

डा। पोखरेलका अनुसार अहिले समग्र मौसमी अवस्थालाई हेर्दा तीनवटा प्रणाली विकसित भइरहेको देखिन्छ ।

दक्षिण भारतमा उत्तरपूर्वी मनसुनको प्रभाव कायम रहनुका साथै त्यहाँ न्यून चापीय प्रणाली पनि विकसित भइरहेको छ । यसका कारण दक्षिण भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

त्यस्तै, बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली नेपालतर्फ आउने मुख्य प्रणालीका रूपमा देखिएको छ । यसबाहेक पश्चिमी वायुको प्रभाव पनि कायम रहेकाले नेपालमा वर्षाको सम्भावना थप बढ्न सक्ने सम्भावना छ ।

नेपालमा भारी वर्षा गराउन बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावासँगै माथिल्लो वायुमण्डलको अवस्थाले पनि भूमिका खेल्न सक्ने उनको विश्लेषण छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, आइतबार  १२ : ५९ बजे