सुरुङ्गा (झापा), १५ मङ्सिर । प्रथम कोच राष्ट्रिय गायन प्रतियोगिताको उपाधि झापा जलथलका दिलकुमार राजवंशीले जित्नुभएको छ ।
मङ्गलबार भएको प्रतियोगिताबाट उपाधि जित्नुहुने उहाँले रु ५१ हजारसहित प्रमाणपत्र हात पार्नुभयो । उहाँ दृष्टिबिहीन हुनुहुन्छ ।
प्रतियोगितामा कुमरखोद निवासी राम राजवंशी द्वितीय हुनुभएको छ । उहाँले रु २५ हजार र प्रमाणपत्र हात पार्नुभयो । त्यस्तै, राजगढकी रिता राजवंशी तेस्रो हुनुभयो । उहाँले रु १५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिकाकी निकिता राजवंशी र मोरङ झुर्कियाका योगेन्द्र ताजपुरियाले सान्त्वना पुरस्कार प्राप्त गर्नुुभएको छ । उहाँहरुले रु ५÷५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

कोचिला राष्ट्रिय मुक्ति मोर्चाको आयोजना तथा राजवंशी समाज विकास समिति र कोचिला ग्राभुर फ्रन्टको सह–आयोजनामा भएको कार्यक्रम रेडियो नेपालको सहकार्यमा भएको थियो ।
यही मङ्सिर ४ गतेदेखि सुरु भएको प्रतियोगितामा २६ जनाले सहभागिता जनाएका थिए । मङ्सिर ६ गते पहिलो अडिसन, ११ गते दोस्रो अडिसन र १४ गते भएको फाइनल अडिसनबाट १४ जना छनौट भएका थिए ।
प्रतियोगिताका विजयीलाई कार्यक्रमका प्रमुख अतिथि सांसद मोहन टुडूले नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।