५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

चेपाङ बालबालिका पढाउन ‘साथीका लागि साथी’


१५ मंसिर २०७३, बुधबार  

0
Shares

रत्ननगर (चितवन), १५ मङ्सिर । चितवनको विकट गाविस लोथरमा चेपाङ बालबालिका पढाउन ‘साथीका लागि साथी’ कार्यक्रम चलाइएको छ ।

लोथर गाविसको पनि विकट गाउँ कान्दास्थित कुमार बलराम स्मृति छात्रबासमा बसेर पढ्न थालेका चेपाङ तथा विपन्न वालबालिकाको शिक्षाका लागि उक्त कार्यक्रम सुरु गरिएको हो ।

लक्ष्मी प्रतिष्ठानले स्थापना गरेको छात्राबासमा बसेका बालबालिकाको उच्च शिक्षासम्म अध्ययनका लागि एकजना हुनेले नहुने मान्छेका लागि सहयोग गर्ने अभियान ‘साथीका लागि साथी’ कार्यक्रम सुरु गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले जानकारी दिनुभयो ।

Sagarmatha

उहाँका अनुसार ४२ जना चेपाङ तथा विपन्न बालबालिका उक्त कार्यक्रममा सरिक बनाइएको छ जसमा तीन बालबालिकालाई उच्च शिक्षासम्म पढाउने जिम्मा नेदरल्यान्डकी बिन्डीले सहयोग गर्न थालेको गौतमले बताउनुभयो ।

अन्य ३९ जना बालबालिकाको हकमा भने देश विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेर पढाइदिन सुरु भएको गौतमले जानकारी दिनुभयो ।

उनीहरुको शिक्षा दीक्षासहित खान बस्न र पालनपोषणमा लाग्ने सबै खर्च वार्षिक करिब रु ५१ हजार खर्च लाग्ने भएकाले सोही रकम सहयोग गरी ‘साथीका लागि साथी’ कार्यक्रममा सरिक भएको प्रतिष्ठानले जनाएको छ ।

यहाँ अधिकांश चेपाङ तथा केही तामाङ, गुरुङका १२५ बालबालिका आवासीयरुपमा बसेर कान्देश्वरी स्कुलमा पढ्दै आएका छन् ।

विसं. २०६७ मा अन्नको अभाव हुँदा जङ्गलबाट टिपेर ल्याएको च्याउ खानेक्रममा विषालु च्याउ परेपछि स्थानीय बाबुराम चेपाङ परिवारका आठजनाको मृत्यु भएपछि प्रतिष्ठानले २०६९ सालदेखि चेपाङ बालबालिकाको शिक्षामा काम गर्दै आएको छ ।

प्रतिष्ठानकै कारण गाउँनै परिवर्तन भएको स्थानीय स्कुलका प्रधानाध्यापक बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०७३, बुधबार  ६ : ०६ बजे