४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

नेमकिपाद्वारा संविधान संशोधन प्रस्तावको विरोध


१५ मंसिर २०७३, बुधबार  

0
Shares

भक्तपुर, १५ मङ्सिर । नेपाल मजदुर किसान पार्टीले संसद्मा दर्ता भएका संविधान संशोधनको प्रस्तावको विरोध गर्दै प्रस्तावको विपक्षमा उभिन सबै राजनीतिक दललाई आह्वान गरेको छ ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालयको बैठकले संशोधन प्रस्तावमा उल्लेखित भाषा, प्रदेशको सीमाङ्कनमा हेरफेर, नागरिकता र जनसङ्ख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व जस्ता कुनै पनि विषय नेपाल र नेपाली जनताको हितमा नभएको ठहर गरेको पार्टीका सचिव सुनिल प्रजापतिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ – प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको निर्देशनमा सरकारबाट संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।

संविधान कार्यानवयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने बेला भारतीय शासक वर्गको निर्देशनमा संविधान संशोधन प्रस्ताव दर्ता गर्नु देशमा निर्वाचन हुन नदिने षड्यन्त्र भएको ठहर बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनतामा गम्भीर असर पर्ने गरी सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको बैटकले भत्र्सनासमेत गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७३, बुधबार  ११ : १८ बजे