४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

रोजगारीको अवसरले नारच्याङवासी उत्साहित


१६ मंसिर २०७३, बिहिबार  

0
Shares

म्याग्दी, १६ मङ्सिर । नारच्याङ गाविस– ४ का रेशबहादुर तिलिजा गाउँमै रोजगारी पाएकोमा मख्ख छन् । घरखर्च जुटाउन लामो समय वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुक पुगेका तिलिजा अहिले नारच्याङमै निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनामा काम गर्दै आउनुभएको छ ।

गाउँमा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम सुरु भएर रोजगारीको अवसर सिर्जना भएपछि वैदेशिक रोजगारीलाई त्यागेर उहाँ आयोजनामा काम गर्न थाल्नुभएको हो । तिलिजाजस्तै १० वर्षसम्म कतारमा मजदुरी गरी फर्किएर घलेम्दी जलविद्युत् आयोजनामै आबद्ध भएका नारच्याङ–५ का नीरबहादुर थजालीले पनि गाउँमै रोजगारी पाउनुभएको छ ।

गाउँमै जलविद्युत् आयोजनामा काम गरी घरखर्च जुटाउन पाउँदा आफूलाई सन्तुष्टि मिलेको उहाँ बताउनुहुन्छ । आयोजनाको काम सुरु भएसँगै गाउँमा सडकलगायतका पूर्वाधार पनि तयार भएका छन् । ‘घलेम्दी हाइड्रो लिमिटेड’ले निर्माण गर्न लागेकोे घलेम्दीखोला जलविद्युत् आयोजनामा अहिले करिब ९० जनाले रोजगारी पाएका छन् ।

अन्नपूर्ण हिमालको फेदी हुँदै बग्ने घलेम्दीखोला जलविद्युत् आयोजनाको सुरुङ मार्ग, बाँध निर्माणलगायतको पूर्वाधार निर्माण काममा करिब २०० जना मजदुर परिचालन भएका छन् । आयोजनाको लागि आवश्यक पर्ने जनशक्ति स्थानीय स्तरमा उपलब्ध भएकाले उनीहरुलाई नै अवसर दिएको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव विमल रिजालले बताउनुभयो ।

जिल्लाकै व्यवसायी र अगुवाको नेतृत्वमा निर्माण सुरु भएको सो आयोजनाले स्थानीयलाई रोजगारीसँगै लगानीको समेत अवसर प्रदान गरेको छ । नारच्याङका अधिकांशले उक्त आयोजनामा सेयर लगानी गरेका छन् । सो गाविसबाट करिब रु एक करोड लगानी भएको रिजाल बताउनुहुन्छ ।

नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङ रोजगारीको लागि खाडीमुलुक जाने युवा अहिले आयोजनामै आबद्ध भएका बताउनुहुन्छ । नारच्याङमा घलेम्दीसँगै ‘रोवस्ट इनर्जी कम्पनी’ले ४२ मेगावाट क्षमताको मिरिस्तीखोला जलविद्युत् आयोजना समेत निर्माण सुरु गरेको छ ।

नारच्याङमा घलेम्दीखोला र मिरिस्तीखोला आयोजनासहित १० वटा जलविद्युत् आयोजना दर्ता भएका छन् । नारच्याङमा विसं २०४३ मा निर्माण सुरु भएर २०४४ देखि विद्युत् वितरण थालेको दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जिल्लामै जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो । अहिले गाउँमा भित्रिएका जलविद्युत् अयोजना निर्माण चरणमा प्रवेश गरेसँगै नारच्याङ ‘हाइड्रो भिलेज’ मा परिणत भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७३, बिहिबार  ११ : २४ बजे