काठमाडौँ, १७ मङ्सिर । काठमाडौँको बौद्ध फूलबारीस्थित सेतो गुम्बामा १९औँ शताब्दीका महत्वपूर्ण बौद्ध उपदेश श्रवणका लागि धर्मावलम्बीको विशेष भीड लागेको छ ।
बौद्ध धर्म, तथा साहित्यका महत्वपूर्ण उपदेशको वाचन भइरहेको छ । महायानी सम्प्रदायका बौद्ध धर्मावलम्बीको विशेष भीडमा विभिन्न उमेर समूहका स्वदेशी तथा विदेशी अनुयायीलाई गुम्बामा प्रवचन लिँदै अभ्यास गरेको देख्न सकिन्छ । यही मङ्सिर ८ देखि १८ गतेसम्म जारी रहने उक्त धार्मिक कार्यक्रममा धर्मगुरु छोग्लिङ रिन्पोछेले महत्वपूर्ण कृतिबाट उपदेश प्रदान गर्नुभएको छ । महायानी सम्प्रदायका अनुयायीले यस्तो पूजामा सहभागी हुन पाउँदा ठूलो धर्मलाभ भएको विश्वास गर्छन् ।
तिब्बती अभ्यासका गुरु छोग्युर लिङ्पाले १९औँ शताब्दीमा विकास गरेका बौद्ध साहित्यका आधारमा विभिन्न ४० कृति छन् । यस अवधिमा तीमध्ये १३ कृतिको प्रवचन गरिनेछ । कार्यक्रममा सहभागी बौद्ध विद्वान्ले ती कृतिमा भएका विषय वस्तुले सहअस्तित्व र शान्तिपूर्ण समाज निर्माण गर्न उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

गुरु लिङ्पाको चौथो निर्माणकाय (टुल्कु)को जन्म सन् १९५२ मा भोटमा भएको विश्वास छ । उहाँ विचित्र लक्षणसहित जन्मनुभएको सम्बन्धित अनुयायीले विश्वास राखेका छन् । प्रत्येक वर्ष तिब्बती पात्रोको नौ महिनाको सेरोफेरोमा यस किसिमको प्रवचन हुने गर्छ । गुरुले भोटमा प्रचलित पुराना तथा नयाँ अनुवादसँग सम्बन्धित अभिषेक, आगम र निर्देशन त्यहाँ सहभागी अनुयायीलाई दिने बौद्ध विद्वान् पुण्य पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तिम दिन स्वदेशी तथा विदेशी अनुयायीलाई दीक्षा प्रदान गरिनेछ ।
उक्त पूजामा अन्तिम दिन सो दीक्षा लिएपछि सम्पूर्ण प्राणीजगत्को रक्षा र मानवकल्याणका लागि क्रियाशील रहन प्रेरणा मिल्ने बताइएको छ । सोही दिन विश्वशान्तिको कामना गरी विभिन्न स्तोत्र तथा मन्त्र पनि पाठ गरिनेछ । यस्तो पूजामा सहभागी भएमा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास छ ।
उक्त गुम्बाले काठमाडौँ विश्वविद्यालयसँग समन्वय गरी अन्तर्राष्ट्रिय तहको बौद्ध दर्शनका शैक्षिक कक्षा सञ्चालन गरेको छ । त्यसको अध्ययनका लागि अहिले ४५ विदेशी छन् । त्यसैगरी विभिन्न समयमा धार्मिक गतिविधि सञ्चालन गरी सामाजिक सेवाका कार्यमा समेत गुम्बा संलग्न हुँदै आएको गुम्बाका प्रतिनिधि दावा शेर्पाले बताउनुभयो । उक्त गुम्बामा समयसमयमा गुरु पद्म सम्भव तथा विश्वका प्राणीजगत्का रक्षाका लागि पूजा गर्ने गरिन्छ ।