खजुरा (बाँके), १८ मङ्सिर । राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले राससको सेवा प्रभावकारी भएकाले यसलाई अझ थप गुणस्तरीय बनाउने तयारी भइरहेको बताउनुभएको छ ।
नेपालगन्जस्थित रासस मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयको शुक्रबार अवलोकन गर्दै उहाँले राससमा अर्काइभ सेवा विस्तारको काम पनि भइरहेको बताउनुभयो । अध्यक्ष वाग्लेले राससको केन्द्रीय कार्यालय तथा विभिन्न स्थानमा रहेका भौतिक संरचनाको मर्मतसम्भार तथा पूर्वाधार निर्माणका लागि आवश्यक पहल भइरहेको जानकारी पनि दिनुभयो ।
सो अवसरमा रासस क्षेत्रीय प्रमुख नीरज गौतमले कार्यालयको भौतिक पूर्वाधारलगायत विषयमा अध्यक्ष वाग्लेलाई जानकारी गराउनुभयो । त्यस क्रममा सहभागी बाँके जिल्ला समाचारदाता राकेशकुमार मिश्र र बर्दिया जिल्ला समाचारदाता मेनुका चौधरीले पनि राससको समाचारका विषयमा आआफ्नो कुरा राख्नुभएको थियो ।
यसैबीच नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष वाग्लेले प्रजातान्त्रिक पक्षधर पत्रकारको सङ्गठनलाई मर्यादित बनाई प्रजातान्त्रिक पक्षधरका पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिनुभएको छ ।

प्रेस युनियन बाँकेद्वारा आयोजित अग्रज पत्रकारसँगको भेटघाट कार्यक्रममा अध्यक्ष वाग्लेले पत्रकारको क्रियाशीलता तथा पत्रकारितालाई मर्यादित बनाउनुपर्नेमा जोड दिँदै युनियनको समग्र विकासका लागि हामी सबैको भूमिका आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रेस युनियनसँग आबद्ध पत्रकारको सहभागिता थियो ।
यस्तै अध्यक्ष वाग्लेले नेपालगन्जस्थित अन्तराल मिडियाद्वारा स्थापित फोटो बैंकको अवलोकन गर्दै त्यसबारे जानकारी लिनुभयो । अन्तराल मिडियाका निर्देशक जयनारायण शाहले विभिन्न क्षेत्र र निकायका व्यक्ति तथा ऐतिहासिकस्थलको बैंकमा सङ्ग्रह गरिएको तस्बिरबारे उहाँलाई जानकारी गराउनुभएको थियो