काठमाडौँ, १८ मङ्सिर । सहकारी तथा गरिबी निबारणमन्त्री हृदयराम थानीले सहकारी ऐन चाँडो ल्याउन लागिएको बताउनुभएको छ
राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको १३ औँ वार्षिक साधारण सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले व्यवस्थापिका संसद्को अर्थ समितिअन्तर्गत उपसमितिमा सो सम्बन्धी विधेयक छलफलको क्रममा रहेको जानकारी दिनुभयो ।
स्वास्थ्य सहकारी सङ्घका अध्यक्ष राजेन्द्र पाण्डेले सहकारी क्षेत्रले देशमा निष्क्रिय पुँजी सङ्कलन गरी विभन्न क्षेत्रमा गरेको लगानीले मुलुकमा ठूलो रोजगारी सिर्जना भएको बताउनुभयो ।

राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडाल, नेकपा (एमाले) सहकारी विभाग प्रमुख पशुपति चौलागार्इँलगायतले सहकारी क्षेत्रलाई कडाइका साथ नियमन गरी त्यस क्षेत्रमा ठगी गर्नेलाई दण्डित गर्न माग गर्नुभयो ।
नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सहकारी क्षेत्रले ग्रामीण भेगको विकासमा स्थानीयवासीलाई समेट्नुपर्नेमा जोड दिँदै छलफलको क्रममा रहेका सो विधेयकमा सर्वसाधरणलाई ठगी गर्नेलाई सजायको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
बैङ्कका अध्यक्ष रमेशप्रसाद पोखरेलले यस क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्ने खाँचो रहेको बताउँदै करिब नौ हजार सहकारी संस्था सो बैङ्कसँग आवद्ध रहेको जानकारी गराउनुभयो ।
उक्त बैङ्कले आर्थिक वर्ष २०७३÷७४ मा रू तीन अर्ब २८ करोड मुनाफा गरेको जनाएको छ ।