ललितपुर, २६ मङ्सिर । भूकम्पका समयमा क्षतिग्रस्त पाटन दरबार स्क्वायरस्थित योगनरेन्द्र मल्लको ऐतिहासिक सालिक मर्मतको काम अन्तिम चरणमा पुगेको छ ।
मर्मतको काम सकिएपछि त्यसलाई अड्याएर राखिने पाटन दरबार स्क्वायर हेरचाह कार्यालयका प्रमुख काजी प्याकुरेलले बताउनुभयो । अस्ट्रियाबाट आएको विशेषज्ञ टोलीले मर्मतको काम गरिरहेको छ । भूकम्पका समयमा सालिकबाट झरेका तीन प्रस्तर (ढुङ्गा) राख्ने काम सकिएको कार्यालयका प्रमुख प्याकुरेलले बताउनुभयो । गह्रौँ क्रेन लगाएर प्रस्तर राखिएको थियो । उहाँले भन्नुभयो, “यिनै प्रस्तरमा सालिक अड्याएर राखिन्छ ।” विज्ञ टोलीले एक महिनासम्म यसमा काम गरेको थियो ।
भूकम्पपछि सालिक कार्यालयकै अस्थायी शिविरमा सुरक्षित रुपमा रहेको थियो । राजाको एउटा र दुई रानीको सालिकको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । प्रस्तर खस्दा धातुको सालिक कुचिएको थियो । सालिकका धेरै काम अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो, “विज्ञ टोलीले गरेका काम उनीहरु नै पूरा गर्नेछन् ।” पुनःप्रयोग हुन सक्ने भागलाई अहिले कामदारले मर्मत गरिरहेका छन् । दैनिक झन्डै २० जनासम्म कामदार मर्मतमा लागेका छन् ।







