काठमाडौँ, ३ पुस । सन्ध्या टाइम्स दैनिकमा बुद्ध संवत् २५५७ मा प्रकाशित बुद्धधर्मसँग सम्बन्धित लेख रचनामध्येबाट उत्कृष्ट घोषित लेखकद्वय अमृतलक्ष्मी तुलाधर र अशोकानन्द बज्राचार्य तथा बुसं २५५८ का सुनिता मानन्धर र मणिरत्न शाक्यलाई शनिबार यहाँ ‘पञ्चवीर सिंह पुरस्कार’ प्रदान गरियो ।
नेपाल भाषा र बुद्धधर्मको उत्थान र उन्नयनका लागि कलम चलाउने एक महिला र एक पुरुष लेखकलाई हरेक बुद्ध संवत्मा प्रकाशित लेखहरुमध्येबाट छनोट गरी यो पुरस्कार प्रदान गरिने गरिन्छ । बुद्ध संवत् बराबरको रकम र थप आर्थिक सहायता रु एघार हजार १११ रुपैयाँ पुरस्कारका रुपमा हरेक विजेता लेखकलाई प्रदान गर्ने गरिएको छ । पुरस्कार पञ्चवीर सिंह तुलाधरले स्थापना गर्नुभएको हो ।
बुद्ध संवत् २५४३ देखि प्रदान गर्न थालिएको यो पुरस्कार अहिलेसम्म २७ जना लेखकले प्राप्त गरिसक्नुभएको छ ।

जनकवि दुर्गालाल श्रेष्ठले विजेता लेखकहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । उहाँले आफूभित्रको अज्ञानतालाई बोध गर्नसक्नु नै ठूलो ज्ञान भएको बताउँदै लेखकको आत्मबोध गर्ने प्रयास सराहनीय रहेको बताउनुभयो ।
युवा बौद्ध समूह, काठमाडौँका अध्यक्ष त्रिरत्न तुलाधरको सभापतित्वमा भएको उक्त कार्यक्रममा साहित्यकार तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरले निर्णायक मण्डलका सदस्यहरुलाई ‘मायाको चिनो’ प्रदान गर्नुभएको थियो ।






