२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

सांसद डा तुलाधारलाई विद्यावारिधिका लागि अन्तर्राष्ट्रिय पुरस्कार


८ पुस २०७३, शुक्रबार  

0
Shares

काठमाडौँ, ८ पुस । पूवशिक्षा मन्त्री एवम् नेकपा (एमाले)का सांसद डा गङ्गालाल तुलाधरले उत्कृष्ट शोधबापतको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ ।

जापानको सिमानी विश्वविद्यालयले डा तुलाधरले विद्यावारिधिका लागि प्रस्तुत गर्नुभएको शोध अनुसन्धानबापत उहाँलाई सो अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । सो पुरस्कारको राशि रु एक लाख ३० हजारसहित सम्मानपत्र रहेको छ । पुरस्कार प्राप्त गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।

सो विश्वविद्यालयअन्तर्गतको इन्टरनेसनल अन जियो डिजास्टर रिडक्सन विभागका निर्देशक फाउ वाङले आज यहाँ आयोजित कार्यक्रममा डा तुलाधरलाई सो पुरस्कार प्रदान गर्नुभयो ।

Sagarmatha

सांसद तुलाधरले जापानबाट नै विपद् जोखिम व्यवस्थापनमा स्थानीय अगुवाको बुझाई शोध शीर्षकमा विद्यावारिधि गर्नुभएको थियो । उहाँले नेपालका हिमाल, पहाड, तराई सबै क्षेत्र समेटी १९ जिल्लामा अनुसन्धान गर्नुभएको थियो । गोरखा भूकम्पपूर्व सम्पन्न सो अनुसन्धानले स्थानीय समुदायले विपद् व्यवस्थापनमा ज्ञानको कमी पाइएको निष्कर्ष निस्किएको थियो ।

सो शोधपत्र अन्तर्राष्ट्रिय जर्नलहरुमा समेत प्रकाशित भएको थियो । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समिति, जापानको इहिमे विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा समितिका सभापति दिलबहादुर घर्तीले विपद् व्यवस्थापनमा समुदायलाई नै सक्षम बनाउन आवश्यक भएको बताउनुभयो ।

उहाँले सरकारले विपद् जोखिम व्यवस्थापनका लागि नयाँ ऐन ल्याउन जानकारी दिँदै यसका बारेमा समितिले उचित सुझावसमेत दिने जानकारी दिनुभयो ।

सांसद मानबहादुर खत्री, सन्तकुमार दरै, तुलाराज विष्ट, डा शिवजी यादवले पुनःनिर्माणमा ढिला भइराखेकामा चिन्ता व्यक्त गर्नुभयो ।

जापानका कागावा विश्वविद्यालयका रियुची यातावेले विपद् जोखिम व्यवस्थापन भौतिक संरचनाले मात्र गर्न नसकिने चर्चा गर्दै विपद् जोखिम शिक्षाको आवश्यकता औँल्याउनुभयो ।

यसैगरी जापानकै सुयुची हासागावाले विपद् जोखिम न्यूनीकरणका लागि सरकार, समुदायबीचमा सहकार्य आवश्यक भएको बताउनुभयो ।

सो अवसरमा त्रिविविका प्रा रञ्जनकुमार दाहालले पुनःनिर्माणमा गर्दा भू–बनोटलाई ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

प्रकाशित मिति : ८ पुस २०७३, शुक्रबार  १० : ३७ बजे