म्याग्दी, २५ पुस । नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको कार्यालयमा भएको तालाबन्दी सोमबार खुलेको छ ।
महासङ्घको शाखाका पदाधिकारी र जिल्लामा क्रियाशील पत्रकार सङ्गठनका प्रतिनिधिको उपस्थितिमा भएको छलफलमा दुईबुँदे सहमति भएपछि नेपाल प्रेस युनियनले लगाएको ताला खुलेको हो । सरकारी कर्मचारी, स्थायी शिक्षक र राजनीतिमा क्रियाशील व्यक्तिलाई शाखाले महासङ्घको साधारण सदस्यका लागि सिफारिस गरेको र क्रियाशील पत्रकारलाई पन्छाउन खोजेको भन्दै युनियनले तालाबन्दी गरेको थियो ।
सरकारी कर्मचारी र स्थायी शिक्षकलाई साधारण सदस्यताका लागि गरिएको सिफारिस रोक्ने र छुटेका क्रियाशील पत्रकारलाई समेटेर थप सिफारिस गर्ने सहमति भएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुरत केसीले बताउनुभयो । सहमति भएअनुसार महासङ्घको कार्यालयमा लगाइएको ताला खोलेको प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्यालले जानकारी दिनुभयो । रासस






