२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

कीकृत जाँच–पास चौकी निर्माणले गति लियो


७ माघ २०७३, शुक्रबार  

0
Shares

 

पथरी (मोरङ), ७ माघ । भारत सरकारको लगानीमा निर्माण हुन लागेको एकीकृत जाँच पास चौकी (आईसीपी) परियोजनाको कामले गति लिएको छ ।

निर्माणका लागि नेपाल सरकारले जग्गा अधिग्रहण गरी जग्गाधनीहरुलाई मुआब्जासमेत वितरण गरिसकेर भारतलाई जग्गा हस्तान्तरण गरेकाले अब आईसीपीले गति लिने देखिएको हो ।

मोरङको बुधनगरमा भारत सरकारले निर्माण गरिदिने एकीकृत जाँचपास आइसीपीका लागि भारतको दिनेशचन्द्र आर अग्रवाल इन्फ्रास्ट्रक्चर प्रालिले ठेक्का लिएर अहिले परियोजनाको कामलाई अगाडि बढाएको छ । अहिले सो कम्पनीले परियोजनाको काम छिटो सम्पन्न गर्न धमाधम साइट कार्यालय निर्माण गरिरहेको र सर्वेलगायतका कामहरुलाई अगाडि वढाइएको ठेकेदार कम्पनीका प्रोजेक्ट साइट इन्जिनियर सुशान्त भगतले बताउनुभयो ।

Sagarmatha

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन सहरी कार्यालय, विराटनगरका प्रमुख श्यामकिशोर सिंहले एकीकृत जाँचपास चौकी निर्माणका लागि १२९ विगाह जग्गा र लिङ्क रोडका लागि ४० विगाह जमिन अधिग्रहणपश्चात रु ३० करोड १३ लाख ५४ हजार मुआब्जा वितरण गरी आईसीपी निर्माणका लागि भारतलाई जग्गा हस्तान्तरण गरिसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, भारतले आफ्नै लगानीमा आईसीपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गर्नेछ ।

परियोजनाका लागि जग्गा हस्तान्तरणमा केही महिना अघिसम्म ढिलाइ हुँदा परियोजना नै सङ्कटमा पर्न लागेको आङ्शका उब्जिँदै आए पनि भर्खरै जग्गा हस्तान्तरण भएर साइट कार्यालय समेत स्थापना भएपछि भने पूर्वका उद्योगी व्यवसायी उत्साहित भएका छन् । नेपाल र भारत दुवैतर्फ एउटैस्वरुपको संरचना निर्माण गर्ने योजनासहित ल्याइएको परियोजनाको भारततर्फ संरचना निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आइसकेको छ ।

एकीकृत जाँचपास चौकी निर्माण सम्पन्न भएपछि, पशु क्वारेन्टाइन, गोदामघर, भन्सार चौकीलगायत जाँचको काम सबै एकै थलोबाट हुने र धेरै कुरामा फाइदा पुग्ने बताइएको छ । एकीकृत भन्सार जाँचपास चौकी पूर्वाञ्चलकै मात्र नभई मुलुककै ठूलो परियोजना भएको सरोकारवालाहरुको भनाइ छ ।

भारत सरकारको अर्बौँ रुपैयाँको लगानीमा निर्माण हुन लागेको यो परियोजनाले ठूलै फाइदा पुग्ने भएकाले एकीकृत जाँचपास चौकी निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुनुपर्ने उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकीकृत जाँच पास चौकी परियोजनाको कामले गति लिएकोमा उद्योगी व्यवसायी उत्साहित छौँ ।

प्रकाशित मिति : ७ माघ २०७३, शुक्रबार  ५ : २९ बजे