१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

वाम गठबन्धनको प्रतिबद्धताः पाँच वर्षमा यस्तो बन्ने छ ओखलढुंगा



ओखलढुंगा । ओखलढुंगामा वाम गठबन्धनले पाँच वर्षमा ओखलढुंगाको समृद्धिका योजना प्रतिबद्धता पत्रबाट सार्वजनिक गरेको छ । गठबन्धन (नेकपा (एमाले र नेकपा माओवादी केन्द्र) तर्फका प्रतिनिधिसभाको उम्मेदवार यज्ञराज सुनुवार, प्रदेशसभा (क) अमिरबाबु गुरुङ र प्रदेशसभा (ख) मोहनकुमार खड्का हिमशिखर छन् । उनीहरुको संयुक्त चुनावी प्रतिवद्धतामा उद्योग तथा विजुली तर्फ आगामी पाँच वर्षमा प्रत्येक स्थानीय निकायमा न्यूनतम् एक उद्योगग्राम विकास गरी खिजीदेम्बा गाउँपालिकाभित्र व्यवस्थित रुपमा नेपाली कागज उद्योग स्थापना गरी त्यसको निकासी तथा पैठारीको व्यवस्था गर्ने उल्लेख छ । लागनीकर्तालाई आकर्षित गर्न आगामी पाँच वर्षसम्म विद्युत, खानेपानी तथा करमा विशेष छुट दिने र स्थानीय तहलाई नै उद्योगसम्बन्धी नीति बनाई एक वार्ड एक उत्पादनको अवधारणा लागु गरिने उल्लेख छ । आगामी ५ वर्षभित्र जिल्लालाई उर्जाको आत्मनिभएर बनाउन विद्युत उर्जा विकासलाई प्राथमिकताका साथ अगाडि बढाउने घोषणा गरेको छ ।
सबै स्थानीय तहका वडादेखि केन्द्रउसम्म राष्ट्रिय प्रशारण लाईनको विस्तार गर्ने र ग्रामीण विद्युतीकरण नभएको स्थानीय तहमा सबै वडामा आगामी तीन वर्षभित्र विद्युत सेवा उपलब्ध गराई जिल्लालाई लोडसेडिङमुक्त बनाउने उल्लेख गरेको छ भने गरिबीको रेखामुनि रहेका परिवारको पहिचान गरी विशेष सहुलियत दिइने घोषणा छ ।
वाम गठबन्धनले शिक्षा क्षेत्रमा प्रत्येक गाउँपालिका र नगरपालिकामा गुणस्तरीय र अनिवार्य शिक्षाका लागि आफ्नो कूल बजेटको १५ प्रतिशत शिक्षामा लगानी गर्ने योजना कार्यान्वयन गर्ने योजना सार्वजनिक गरेका छन् । साथै, विद्यालय टाढा भएका विपन्न असहाय र अशक्त विद्यार्थीहरुका लागि प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तीमा एउटा आवासीय विद्यालय सञ्चालन गर्ने र प्राथमिक तहमा मात्रृभाषा शिक्षा दिईने प्रबन्ध मिलाइने योजना अघि सारेका छन् ।
अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चित गर्न गुरुकुल, विहार, गुम्बा, खुल्ला एवम् वैकल्पिक शिक्षा कार्यक्रमलाई पाँच वर्षमा राष्ट्यि शिक्षा प्रणालीसँग आवद्ध गरिने व्यवस्था मिलाउने योजना छ ।
स्वास्थ्य क्षेत्रमा प्रत्येक गाउँपालिकाको केन्द्रमा कम्तीमा १५ तथा नगरपालिकाको केन्द्रमा ५० शैयाको सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ । साथै, सबै स्वास्थ संस्थाहरुमा पोषण कार्यक्रम सञ्चालन गरी कुपोषित बालबालिका तथा गर्भवती महिलालाई नियमित पोषण भत्ताको व्यवस्था गर्ने नीति ल्याईने जनताबीच प्रतिवद्धता जनाएको छ ।
वामगठबन्धले पुननिर्माणमा स्थानीय तहका सबै संरचना प्राकृतिक जोखिमबाट सुरक्षित र अपांगमैत्री बनाईने तथा भूकम्पबाट घर भत्किएर पनि तथ्यांकमा छुटेकालाई एकवर्षभित्र अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।
जिल्लाभित्र पर्यटन तर्फ सांस्कृतिक पहिचान बोकेका समुदायको मौलिक संस्कृति अक्षुण राख्न नीति व्यवस्था गर्ने र ओखलढुंगाको समग्र समृद्धि र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको छ । त्यसमा कोटगढी, ककनी, सेप्ली, लिब्जु, चाँगेस्थान, नर्मदेश्वर महादेव, मोलि, चुलि, देम्वा, चम्पादेवी, गणेश कुुण्डजस्ता ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका स्थलको संरक्षण गर्दै पूर्वाधारहरुको विकास गरी पर्यटकलाई आकर्षित गर्ने रहेको छ ।
त्यसैगरी, प्राकृतिक सौन्दर्यले भरिपूर्ण देम्बा, लगलगे, थामडाँडा, कोषभञ्ज्याङ, मालिङ्गे डाँडा, माथिल्लो मैदाने, तीनतले, चुलिलगायतका स्थानमा आगामी पाँचवर्षभित्र आवश्यकताअनुसार भ्यु टावर निर्माणमा पहल गर्ने योजना छ ।
तीन तले– जलजले, जयरामघाट–पत्ताले र चुलीङ–सिरिषे, खोटाङ हलेशी–निशंखे पत्तालेजस्ता स्थलहरुमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन गर्ने र सुनकोशी, दुधकोशी र लिखुमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालनका लागि व्यवस्था मिलाउने प्रतिवद्धता छ ।
वामगठबन्धनले खेलकुदको विकासका लागि मानेभञ्ज्याङ, च्यानम, ठुलाछाप र गाम्नाङगटारमा रहेको खेलकुद मैदानलाई स्तरीकृत गरी क्षेत्रीयस्तरको खेलकुद मैदानका रुपमा विकास गर्ने जनाएको छ ।
गठबन्धनले स्थानीय सञ्चारमाध्यममा लैंगिक समानता, श्रमजीवी सञ्चारकर्मीको पेशगात सुरक्षा, वृत्तिविकास र निवृत्तिभरणको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । साथै, कोटगढी क्षेत्र, लगलगे, देम्बाक्षेत्र, कोषभञ्ज्याङ, पलापुलगायतका स्थानहरुमा आवश्यकताअनुसार टेलिफोन टावरहरु निर्माण गर्न पहल गर्ने उल्लेख गरेको छ ।
गठबन्धनले यातायातलाई प्रत्येक स्थानीय तहका वडामा चारवर्षभित्र सडक सञ्जाल विस्तार गर्ने । प्रत्येक गाउँपालिका र नगरपालिका जोडिने सडक १० वर्षभित्र कालोपत्रे गर्ने योजना अघि सारेको छ । रुम्जाटार बिमानस्थललाई थप विस्तार गरी जोड्न पहल गर्ने । सिद्धिचरण नगरपालिकाभित्र आगामी दुईवर्षमा व्यवस्थित वसपार्क निर्माण गर्ने जनाएको छ ।
स्तरीय पशु बधशाला निर्माण गरी प्रशोधित मासु अनुमति प्राप्त वधशालाबाट मात्र विक्री गरिने, प्रत्येक गाउँपालिकामा कृषि बजार एकीकृत सेवा केन्द्र र सरकारबाट मान्यता प्राप्त कृषि तालिम केन्द्र स्थापना गरी जिल्लालाई जनमुखी, प्रभावकारी र भ्रष्टाचाररहित बनाउने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारले वाम गठबन्धनले तयार पारेको प्रतिवद्धतापत्र पाँच वर्षमा पुरा गर्ने घोषणा गर्दै तीनदेखि पाँचवर्षमा ओखलढुंगाको विकासमा आमुल परिर्वतन गर्ने आफ्नो योजना भएको बताए ।
विभिन्न पार्टीहरुका घोषणा पत्र जिल्लाबाट सार्वजनिक भएपछि बौद्धिक वर्गले विभिन्न कोणबाट टिप्पणी गर्न थालेका छन् । कांग्रेसले पनि चुनावी घोषणा सार्वजनिक गरेको छ । काँग्रेस र वाम गठबन्धनको प्रतिद्धतापत्रबारे ओखलढुंगा क्याम्पसका उपप्राध्यापक तथा बौद्धिक व्यक्तित्व युवराज दाहालले काँग्रेसका बढी सैद्धान्तिक भएको टिप्पणी गरे । उनले समयसीमा विनाको प्रतिबद्धता बौद्धिक वर्गले कम विश्वास गर्ने बताए । उनले काँग्रेसको तुलनामा वाम गठबन्धनको प्रतिबद्धता पत्र बढी व्यवहारिक र समयसीमा तोकिएको भएकाले विश्वासनीय भएको बताए । “बाम गठबन्धनले अघि सारेको प्रतिवद्धतापत्रमा भूगोल सापेक्ष र तीनदेखि पाँचवर्षभित्र गर्न सकिने मूर्त कुरा देखिन्छ, तर नेपाली काँग्रेसले बनाएर प्रतिवद्धतापत्र अमूर्त खालका एक घर एक रोजगारजस्ता तत्काल सम्भव नहुने कुरा उल्लेख छ ।” उनले टिप्पणी गरे ।

प्रकाशित मिति : ४ मंसिर २०७४, सोमबार  ४ : ११ बजे