सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकको लागि वर्षकै उपयुक्त मौसम शुरु भएको छ । फागुन महिनाको पहिलो साताबाट खुम्बु क्षेत्रको तापक्रम बढ्दै जाने भएकाले सगरमाथा क्षेत्रमा घुम्न जान उपयुक्त मौसमको शुरु भएको हो ।

खुम्बुपासाङल्हामु गाउँपालिकास्थित दिङबोचेबाट देखिएको हिमाली दृष्यहरु ।
जाडो छल्न काठमाडौं लगायत अन्य शहर गएका बासिन्दाहरु खुम्बु फर्कन थालेका छन् । वसन्त ऋतुको शुरुवातसँगै पर्यटकहरुले भरिभराउँ हुने खुम्बुका होटल तथा लजहरुमा आवश्यक सामानहरु हेलिकोप्टर, खच्चर, याक, चौंरीलाई बोकाएर ढुवानी गर्न थालिएको व्यवसायीले बताए । उच्च हिमाली क्षेत्र भएकाले स्प्रीङ सिजनको बेला चाहिने सबै दैनिक उपभोग्य सामानहरुको ढुवानी गरिरहेको होटल व्यवसायीले बताए ।

खुम्बुपासाङल्हामु गाउँपालिकास्थित दिङबोचेबाट देखिएको हिमाली दृष्यहरु ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण पनि यसै सिजनमा सबैभन्दा बढि आरोहीले गर्ने भएकाले पनि खुम्बु क्षेत्रमा अन्य समयभन्दा यो समयमा बढि पर्यटकहरुको चाप हुने गर्दछ । भूकम्प र हिउँपहिरोले तर्सिएका पर्यटकहरु विस्तारै खुम्बु क्षेत्रमा आकर्षित हुन थालेको स्थानीय पर्यटन व्यवसायीको भनाई छ ।

खुम्बुपासाङल्हामु गाउँपालिकास्थित सोमारे नजिकै सगरमाथा क्षेत्रको भ्रमण पूरा गरि फर्कदै पर्यटकहरु ।
कसरी जाने सगरमाथा क्षेत्र ?
सगरमाथा क्षेत्र जानको लागि दुईवटा बाटो छ । पहिलो हवाईजहाजबाट र दोस्रो बसबाट । हवाईजहाजबाट जाने हो भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३० मिनेटको हवाई यात्रामा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा ओर्लिएपछि सगरमाथा क्षेत्र जान सकिन्छ ।

खुम्बुपासाङल्हामु गाउँपालिकास्थित सोमारे नजिकै सगरमाथा क्षेत्रको भ्रमण पूरा गरि फर्कदै पर्यटकहरु ।
बसबाट जाने हो भने पनि दुईवटा बाटो छ । काठमाडौंदेखि दोलखाको जीरीहुँदै रामेछापको बाम्तीभण्डारसम्म बसमा जाने र त्यसपछि पैदल हिडेर सोलुखुम्बुको किञ्जा, लामाजुरा, जुनवेशी, नुनथला, खरीखोला, सुर्केहुँदै सगरमाथा क्षेत्र घुम्न जान सकिन्छ । अर्को काठमाडौंदेखि सोलुखुम्बुको सदरमुकाम सल्लेरीसम्म बसमा र त्यसपछि पैदल वा फाप्लु विमानस्थलबाट लुक्लासम्म हवाइजहाजमा पनि जान सकिन्छ ।

खुम्बुपासाङल्हामु गाउँपालिकास्थित सोमारेमा विहानको न्यानो घाममा विद्यालय जानुअघि भाईसँग घाम ताप्दै बालिका ।
लामो समय भएको विदेशी पर्यटकहरु बसबाट दोलखाको जीरीहुँदै सगरमाथा क्षेत्र भ्रमणमा जाने गरेका छन् । ठीक्क समय अथवा २०/२५ दिन समय भएका पर्यटकहरु चाँहि काठमाडौंबाट सोलुखुम्बुको सल्लेरीसम्म बसमा र त्यहाँबाट पैदल जाने गरेका छन् । छोटो समय भएका पर्यटकहरु भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हवाईजहाज मार्फत लुक्लामा ओर्लिएपछि सगरमाथा क्षेत्र भ्रमणमा जाने गरेका छन् ।

खुम्बुपासाङल्हामु गाउँपालिकास्थित सोमारेमा सौर्यचुलोमा पानी केत्लीमा बसाइएको । पृष्ठभूमिमा कोङ्दे हिमाल ।
पछिल्लो समय सगरमाथा क्षेत्र घुम्न जाने केहि नेपाली पर्यटकहरु पनि देखिन थालेका छन् । नेपाली पर्यटकहरु भने अवकाश लिएका कर्मचारी, नेपाली सेनाका उच्च तहका कर्मचारी वा बहालवाला उच्च कर्मचारीहरु यस क्षेत्रको भ्रमणमा जाने गरेका छन् ।

खुम्बुपासाङल्हामु गाउँपालिकास्थित पाङबाेचेबाट सोमारेतर्फ जाँदै पर्यटक र स्थानीय महिला । पृष्ठभूमिमा लोत्सेसार हिमाल ।
यस क्षेत्रमा नेपालीका लागि छुट्टै र विदेशी पर्यटकका लागि छुट्टै मूल्य हुन्छ । नेपाली पर्यटकहरुलाई विदेशीहरुलाई भन्दा आधा मूल्य सस्तोमा खाना, चिया लगायतका खानेकुराहरु पाइन्छ ।

खुम्बुपासाङल्हामु गाउँपालिकास्थित सोमारे नजिकै रहेको माने । पृष्ठभूमिमा अामादब्लम हिमाल ।
बसबाट यस क्षेत्रको भ्रमणमा जाने हो भने एक व्यक्ति बराबर थोरैमा ४० देखि ४५ हजार रुपीयाँ भए पुग्छ । यदि हवाइजहाजमा जाने हो भने एक व्यक्ति बराबर ७० देखि ७५ हजार रुपीयाँसम्म लाग्न सक्छ । हवाईजहाजमा यात्रा गर्दा कुनै बेला मौसम प्रतिकुलता भयो भने १० दिनसम्म लुक्ला विमानस्थल वरिपरि कुहिरोले ढाक्छ । त्यो बेला लुक्लामा भनेको समयभन्दा बढि बस्नुपर्ने भएकाले बढि खर्च लाग्न सक्छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट हजाईजहाजमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला अोर्लिएपछि सगरमाथा क्षेत्र भ्रमणमा जाँदै पर्यटकहरु ।
काठमाडौंबाट बसमा यस क्षेत्रको भ्रमणमा निस्कदा नेपालीलाई कम्तीमा १३ देखि १५ दिनसम्म लाग्न सक्छ । तर हवाईजहाजमा जाने हो भने ९ देखि १० दिनसम्ममा सगरमाथाको आधारशिविर पुगी काठमाडौं फर्कन सकिन्छ । दिङबोचेबाट सगरमाथाको आधारशिविरसम्मको यात्राको वर्णन र फोटोकथा अर्को पटकमा …..

खुम्बुपासाङल्हामु गाउँपालिकास्थित टोकटोमा भएको स्तुपा । पृष्ठभूमिमा थामसेर्कु हिमाल ।

खुम्बुपासाङल्हामु गाउँपालिकास्थित मञ्जोहुँदै सगरमाथा क्षेत्रको भ्रमण पूरा गरि लुक्लातर्फ फर्कदै पर्यटकहरु । पृष्ठभूमिमा खुम्बियुल्हा हिमाल । शव्द/तस्वीरः बुद्धवीर बाहिङ ।
१ चैत्र २०७४, बिहिबार
903
Shares







