१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

केरुङ–काठमाडौं रेलमार्गको प्रतिवेदनका लागि चिनियाँ टोली नेपाल आउने



काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गबारे छलफल गर्न डिसेम्बर दोस्रो साता चिनियाँ टोली नेपाल आउने भएको छ । चीन र नेपालको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन चिनियाँ टोली नेपाल आउन लागेको हो । रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको छ । अब विस्तृत परियोजना प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ । तर, प्रारम्भिक रिपोर्ट आएको ३ महिना वितिसक्दा पनि यसबारे दुई देशबीच औपचारिक सम्वाद भएको छैन । प्रारम्भिक रिपोर्टअनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ७५ अर्ब रुपीयाँ लाग्ने देखिएको छ । साथै निर्माण सम्पन्न गर्न ९ वर्ष समय लाग्ने अनुमान छ ।

केरुङ–काठमाडौं रेलमार्गको कुल लम्बई करिब ७२.२५ किलोमिटर हुने देखिएको छ । यो रेलमार्गमा सजिलो भुगोल नपर्ने भएकाले झण्डै ९९ (९८.५५) प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनुपर्नेछ । चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटको रिपोर्टअनुसार तिवेदन रेलमार्गमा ७ वटा सुरुङमार्ग हुनेछ । तर, अझै यो लगानी कसले, कसरी, कुन मोडालिटीमा गर्ने भन्ने तय हुन बाँकी छ । परियोजना प्रतिवेदन नै नबनेसम्म कर्मचारीस्तरमा यसबारे छलफल हुने अवस्था नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए ।
रेल विभागका महानिर्देशक बलराम मिश्र रेलमार्ग अघि बढाउने गरी चीनसँग के–के एजेण्डा राख्ने भन्ने विषय तय हुन बाँकी रहेको जानकारी दिए । रेलमार्गको एलाइनमेन्ट मात्रै टुंगिएको र प्राविधिक विषयमा छलफल बाँकी रहेको उनले बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार  ५ : ४३ बजे