सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा कसरी चढिन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । किनकी हिमाल आरोही बाहेक अरुलाई हिमाल कसरी चढिन्छ भन्ने विषय थाह नहुनु कुनै नौलो विषय होइन । अनि क्लाइमिङ शेर्पाले केके गर्नुपर्छ भन्ने कुरा पनि धेरैलाई थाहा नहुन सक्छ ।

आरोहण दलका सदस्य त केवल उचाईसँग आफूलाई घुलमिल गराउँदै हिमाल चढ्ने गर्दछन्, तर आरोहीलाई सफलतापूर्वक हिमाल चढाउनेको नाम कहिल्यै चर्चामा आउँदैन । त्यत्तिमात्र होइन झनै हिमालको फेदीदेखि शिखरसम्म बाटो बनाउँदै डोरी टाँग्नेहरुको त परको कुरा ? सयौं पटक भत्किएको बाटो बनाउँदै, फेदीदेखि शिखरसम्म डोरी टाँगेर त्यही डोरीको आड र भरमा आरोहण दलका सदस्यले हिमालको चुचुरोसम्म पुग्ने गर्दछन् । तर त्यही बाटो बनाउने र डोरी टाँग्नेको नाम भने त्यत्ति चर्चामा आउँदैन ?
यो वसन्त ऋतुमा नेपालका चार मुख्य हिमाल जहाँ साहसिक क्लाईमिङ शेर्पाले हिमालको फेदीदेखि शिखरसम्म एकै दिन वैशाख ३१ गते डोरी टाँगे (रोप फिक्सिङ) । सगरमाथा (८,८४८ मि.), कञ्चनजंघा (८,५८६ मि.), ल्होत्से (८,५१६ मि.) र मकालु (८,४६३ मि.)मा एकैदिन रोप फिक्सिङ गरेका थिए । क्लाईमिङ शेर्पाले रोप फिक्सिङ गरेपछि यो सिजनको हिमाल आरोहण शुरु भएको थियो ।
को को थिए रोपफिक्सिङमा ?
सगरमाथा : सिद्धिबहादुर तामाङ, पासदावा शेर्पा, दोजी ग्याल्जेन, दावानोर्बु शेर्पा, पासाङदावा शेर्पा, मिङदोर्जी शेर्पा, आङफुर्बा शेर्पा र साङ्बु भोटे लामाले सगरमाथाको साउथकोलदेखि शिखरसम्म मे १४ अर्थात वैशाख ३१ गते रोप फिक्सिङ गरेका थिए ।

त्यसैगरी कञ्चनजंघामा लाक्पा शेर्पा, दावाफिञ्जो शेर्पा, फुर्बा शेर्पा, आङदोर्ची शेर्पा, फुर्वादोर्ची शेर्पा र मिङमार शेर्पाले रोप फिक्सिङ गरेका थिए ।

ल्होत्सेमा किलीपेम्बा शेर्पा, पेम्बाछोटे शेर्पा, आङजाङबु शेर्पा, डेण्डि शेर्पा र टाम्ताङ शेर्पाले रोप फिक्सिङ गरेका थिए ।

त्यस्तै मकालुमा सानु शेर्पा, ङिमा शेर्पा, छङ्बा शेर्पा, मुदोर्ची शेर्पा र लाक्पाठिन्डुक शेर्पाले रोप फिक्सिङ गरेका थिए । यी क्लाईमिङ शेर्पाहरुले रोप फिक्सिङ गरेपछि बल्ल आरोहीहरु चुचुरोतर्फ लागेका थिए ।

११ जेष्ठ २०७६, शनिबार
308
Shares








