४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

विप्लव कार्यकर्ता खोज्दै शसस्त्र र नेपाल प्रहरी सोलुखुम्बुको गाउँगाउँमा



सोलुखुम्बु । महाकुलुङ गाउँपालिका–३, छेस्काम प्रहरी चौकी आक्रमणका लागि आएका विप्लव कार्यकर्ताहरु रित्तो हात फर्किएपछि गाउँपालिकाभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौं र विराटनगरबाट थप सुरक्षाका लागि ३ वटा नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा शसस्त्र र नेपाल प्रहरीका ५० भन्दा बढि सुरक्षाकर्मीले अहिले गाउँपालिका क्षेत्रभित्र सुरक्षा दिइरहेको बताइएको छ ।

फाईल तस्वीर ।

आइतबार राती १० बजे छेस्काम प्रहरी चौकीतर्फ टर्च लाइट बालेर २५ भन्दा बढिको समूह हो हल्ला गर्दै आएपछि प्रहरीहरु हतियार सहित सुरक्षित स्थानमा गएको एक प्रहरी अधिकारीले बताएका छन् । ‘छेस्कामबाट असई साबले भने अनुसार २५–३० जनाको समूहमा आएको विप्लव कार्यकर्ताले प्रहरी चौकीलाई घेराहाली केहि बरबराएका थिए,’ एक प्रहरी अधिकारीले नाम नबताउने सर्तमा भने, ‘करिब २ घण्टाभन्दा बढि उक्त समूहले प्रहरी चौकीलाई घेरा हालेका थिए, भनेर हामीलाई खबर आएको थियो ।’
यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरिक्षक प्रदीप क्षेत्रीले भने विप्लव समूहले पहिले देखिनै जिल्लाका विभिन्न दुर्गम क्षेत्रमा गतिविधि बढाएको खबर आएकाले सर्च अभियानको लागि थप सुरक्षाकर्मी मगाइएको बताए । छेस्काम घटनाको बारेमा भने नीरिक्षक क्षेत्रीले अनुसन्धान भैरहेकाले यसबारेमा बोल्न नमिल्ने बताए ।

फाईल तस्वीर ।

विहानैदेखि महामुलुङ र सोताङ गाउँपालिकाको आकाशमा नेपाली सेनाको हेलिकोप्टर उडेको देखेर स्थानीय त्रसित बनेको सोताङका एक स्थानीयले बताए । ‘मलाई त पहिले शसस्त्र जनयुद्धको बेला जस्तै लाग्यो, हतियार सहित आएका सुरक्षाकर्मी देख्दा पनि मनै जिरिङ्ग भयो,’ स्थानीयले भने, ‘अब फेरी पहिलेकै जस्तो समय आउँछ की क्या हो ।’
यस बारेमा सोमबार विहान जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरको अध्यक्षतामा बसेको बैठकले छेस्काम घटनाको बारेमा बैठकपछि मात्र सूचना दिने भनेपनि अहिलेसम्म कुनै आधिकारिक धारणा आएको छैन ।
यो पनि पढ्नुहोस ।

गाउँमा हतियारधारी छिरेको सूचना पाएलगत्तै किन भाग्यो प्रहरी ?

काठमाडौं र विराटनगरबाट सोलुखुम्बुमा हेलिकोप्टर मार्फत थप सुरक्षाकर्मी पठाइयो

सोलुखुम्बुमा विप्लव माओवादीको चौकी कब्जा गर्ने प्रयास असफल !

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ११ : ४४ बजे