सोलुखुम्बु । जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका ३ रिम्येजुङस्थित पेमाछोलिङ गुम्बाको विधिवत रुपमा प्राण प्रतिस्थापन (रम्ने) पूजा गरी उद्घाटन गरिएको छ । वि.सं. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त गुम्बालाई पुनःनिर्माण गरी लामाहरुद्धारा पाठपूजा गरी प्राण प्रतिस्थापन गरिएको हो ।

गुम्बाको भौतिक संरचना भूकम्प गएको २० महिनभित्रै पुनःनिर्माण गरिसकिएको भएपनि मूर्तीनिर्माण, गुम्बाभित्र र बाहिरको रंगरोगन तथा चित्र लेखन कार्यमा भने धेरै समय लागेको खुम्बुपासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरिङ शेर्पाले बताए । साथै गुम्बाको विधिवत रुपमा प्राण प्रतिस्थापन (रम्ने) पूजाको लागि उत्तम महिना (सागादावा) अर्थात २०७६ असार महिनानै पर्खिनु पर्ने भएकाले पनि गुम्बाको विधिवत उद्घाटन ढिला भएको हो ।
४ करोड ७० लाख रुपीयाँको लागतमा गुम्बा पुनःनिर्माणको काम सकिएको हो । गुम्बाभित्रको सम्पूर्ण मूर्ती निर्माण (कुज्याङ), थाङका लेखन, रंगरोगन (कुथाङ), गुम्बाको मुख्य भवन (ल्हाखाङ) निर्माण गरिएको छ । त्यसैगरी आँगन (देवाङ), डाईनिङ (थुखाङ), किचेन (साखाङ), पाहुनाघर (जिम्खाङ), चर्पी (छ्याखाङ) समेत निर्माण गरी सञ्चालनमा ल्याएको गाउँपालिका प्रवक्ता शेर्पाले बताए ।

गुम्बाको परम पुज्यनीय ठुल्शीक याङसी रिन्पोचे, परम पुज्यनीय जटुल रिन्पोचे, परम पुज्यनीय तेङबोचे रिन्पोचे, परम पुज्यनीय ठाक्टुल रिन्पोचे, परम पुज्यनीय साङसाङ रिन्पोचे, परम पुज्यनीय ठुल्शीक याङसी रिन्पोचे, परम पुज्यनीय नाप्टुल रिन्पोचे, परम पुज्यनीय थामे याङसी रिन्पोचे लगायतका धर्म गूरूहरूबाट विधिवत रूपमा प्राण प्रतिस्थापन (रम्ने) पूजा गरिएको थियो । गुम्बाको औपचारिक उद्घाटन खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले गरेका थिए । गुम्बा पुनःनिर्माणको लागि गाउँपालिकाबाट ५२ लाख, काठमाडौं कपन गुम्बाबाट ३३ लाख, शेर्पा फाउण्डेशनबाट ३० लाख ५० हजार, एभरेष्ट फ्युचर फाउन्डेशनबाट ३० लाख, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र गौतमबुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समुहबाट २७ लाख ५० हजार, ग्रेटर हिमालयन फाउण्डेशनबाट २० लाख नेपाल पर्यटन बोर्डबाट १३ लाख ५० हजार, गुम्बा व्यवस्थापन समिति पुल्चोकबाट १० लाख र अन्य व्यक्तिगत सहयोग बापत २ करोड २४ लाख गरी ४ करोड १७ लाख रकम प्राप्त भएको छ, भने ५२ लाख रूपीयाँ रकम अझै नपुगेको प्रवक्ता शेर्पाले बताए ।









