२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

तल्लो सोलुको पर्यटकीय क्षेत्र सुकेपोखारीमा निर्माण हुने

हलेसी आउने पर्यटकलाई सुकेपोखरीसम्म ल्याईने


१७ असार २०७८, बिहिबार  

4.6k
Shares

सोलुखुम्बु । जिल्लाको स्थानीय तह गाउँपालिकामध्ये सबैभन्दा बढि जनसंख्या भएको थुलुङ दुधकोशी गाउँपालिकामा ऐतिहासिक र मनोरम पर्यटकीय क्षेत्र ‘सुकेपोखरी पर्यटन गुरु योजना’ सम्पन्न भएको छ ।

तल्लो सोलुखुम्बुमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि ‘सुकेपोखरी पर्यटन गुरु योजना’ सम्पन्न गरिएको हो । ‘सुकेपोखरी पर्यटन गुरु योजना’ सम्पन्न भएपछि निर्माणको लागि बोलपत्र आह्वान गरिएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

‘हामीले गाउँपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर निर्वाचित भएको पहिलो वर्षमै केहि गुरु योजनाहरुको छनौट गरेका थियौं ।’ अध्यक्ष राईले भने, ‘त्यही गुरु योजना अन्तर्गतनै सुकेपोखरी पर्यटन क्षेत्रको निमार्ण गर्न लागेका हौं ।’

Sagarmatha

पूर्वी नेपालको पशुपतिनाथको रुपमा चिनिने हलेसी महादेवको दर्शनका लागि पुग्ने तिर्थालुहरुलाई सुकेपोखरीसम्म ल्याउनको लागि किरात, बौद्ध र हिन्दुहरुको मन्दिर पनि बनाईले राईले बताए । ‘हलेसी महादेवको दर्शनमा आएका तिर्थयात्रीलाई हामी सुकेपोखरीसम्म आकर्षण गर्नको लागि किरात, बौद्ध र हिन्दुहरुको मन्दिर पनि बनाउँने छौं ।’ अध्यक्ष राईले भने, ‘सुकेपोखरी आएपछि अलि माथि डाँडाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा देखिन्छ । त्यसैले पनि हलेसी आउने पर्यटकहरुलाई सुकेपोखरीसम्म ल्याउन सकिन्छ ।’

सुकेपोखरी पर्यटन क्षेत्र निर्माणको लागि ५ करोड बजेट लाग्ने अनुमान गरिएको छ । जसमा ३ करोड सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र २ करोड गाउँपालिकाले लगानी गर्ने पनि अध्यक्ष राईले बताए । सुकेपाेखरीबाट नेचासल्यान गाउँपालिकाको सबै क्षेत्र, सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका, खुम्बुपासाङ ल्हामु गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाका केहि पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्न सकिन्छ ।

गाउँपालिकाले विभिन्न गौरवका आयोजनाहरु सञ्चालन गरिरहेको छ । जिल्लाकै एक मात्र ५० शैय्याको दुधकोशी अस्पतालको भवन निर्माणको अन्तिम चरणमा पुर्याएको छ । गाउँपालिकामा प्रहरी चौकी भवन निर्माण पूरा भई सोहि भवनबाट कार्यालय सञ्चालन भैसकेको छ ।

त्यसैगरी निर्वाचित भएको केहि समयमै गाउँपालिका कार्यालयको लागि मुक्लीमा निःशुल्क जग्गा व्यवस्था गरी आफ्नै भवनबाट कार्यालय सञ्चालन गरेको छ । साथै इञ्जिनियरिङ क्याम्पस, कृषि जेटिए पनि गाउँपालिकामै अध्ययन गर्ने अनुमति प्राप्त गरी विभिन्न कक्षाहरु सञ्चालन भैरहेका छन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ५ : ०६ बजे