२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

एक दिनका लागि गाउँपालिका अध्यक्ष बनेकी सुस्मिताले के के गरिन ?


सगरमाथा अनलाईन

२९ भाद्र २०७८, मंगलबार  

1.2k
Shares

विराटनगर । मोरङकी किशोरी सुस्मिता ऋषिदेवले एक दिनका लागि बुढीगंगा गाउँपालिकाकी अध्यक्ष बन्ने अवसर पाएकी छन् । १२ कक्षाको तयारीमा रहेका उनलाई सिविन नेपाल, विराटनगरले सोमबार एक दिनका लागि गाउँपालिका अध्यक्ष बन्ने प्रस्ताव राखेको थियो ।

भारतीय चलचित्र ‘नायक’ हेरेकी उनलाई शुरुमा त यो प्रस्ताव निकै अप्रत्याशित लागेको थियो, तर मंगलबार राष्ट्रिय बाल दिवसका अवसरमा उनी एक दिनका लागि गाउँपालिका अध्यक्ष बनेकी छन् । शुरुमा १६ वर्षीया ऋषिदेवलाई गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले आफ्नो जिम्मेवारी हस्तान्तरण गरे । दुईवटा कार्यालयको अनुगमन गरिन् र गाउँ कार्यपालिकाको बैठकमा सहभागी भएर तीनवटा निर्णय समेत गराएकी छन् ।

एक दिनका लागि गाउँपालिका अध्यक्ष बनेकी ऋषिदेवले स्थानीय कर्मवीर माध्यमिक विद्यालयको अनुगमन गरिन् । कोरोनाको त्रासका बीच विद्यालय खेल्ने तयारीमा रहेका शिक्षकहरुलाई बालबालिकाको मनोभावना बुझेर अध्ययन गर्न सुझाव दिइन् ।

Sagarmatha

उनले स्वास्थ्य चौकी, बुढीगंगा पुगेर खोप र पोषणबारे सचेतना फैलाउन आग्रह गरेकी छन् । दुई कार्यालय अनुगमनपछि गाउँ कार्यपालिकाको बैठकमा सहभागी भइन्, जुन बैठकले तीन निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बरालले जानकारी दिए ।

बैठकले बालबालिकालाई स्थानीय तहको निर्णय प्रक्रिया, स्थानीय शासनमा बालबालिकाको भूमिकाका विषयमा साझा बुझाइ बनाउन अभिमुखीकरण कार्यक्रम गर्न ५० हजार बजेट विनियोजन गर्ने निर्णय गरेको छ । त्यस्तै बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने र पालिकाले आगामी दिनमा निर्माण गर्ने सबै संरचना बालमैत्री बनाउने निर्णय पनि भएको छ ।

मंगलबार भएका तीनवटै निर्णयलाई औपचारिकता दिन अब बस्ने कार्यपालिका बैठकबाट अनुमोदन गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बरालले जानकारी दिए ।

ऋषिदेवले पनि गाउँपालिका अध्यक्षको रुपमा काम गर्न पाउनु गर्वको विषय भएको बताइन् । बुधबारदेखि शुरु हुने कक्षा १२ परीक्षा दिने तयारीमा रहेकी उनले अनलाइनखबरसँग भनिन्, ‘पिछडिएको वर्ग, त्यसमाथि पनि दलित समुदायको एउटी किशोरीका लागि यो एकदमै खुशीको कुरा हो ।’

परिवारका पाँच सदस्यमध्ये कान्छी छोरी उनी कक्षा ६ मा बढ्दै गर्दा बाल क्लबमा आवद्ध भइन् । २०७५ सालयता राष्ट्रिय किशोरी सञ्जालमा सक्रिय छिन् । सिविन–नेपालले बुढीगंगा गाँउपालिका (साविक टंकीसिनुवारी गाविस) १, २ र ३ मा बालविवाह विरुद्ध सञ्चालन गरेको ‘हर च्वाइस’ परियोजनामार्फत गठन भएको रक्षा किशोरी समूहमार्फत सामाजिक क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

सिविन नेपाल विराटनगरका संयोजक बासु अधिकारीका अनुसार ऋषिदेव समुदायका बालिकामा कक्षा ५ देखि ८ सम्म विद्यालय छाड्ने समस्या छ । सुस्मिताले भने परिवारलाई सम्झाउँदै अध्ययन र सामाजिक कार्यलाई निरन्तरता दिएकी छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  २ : ०८ बजे