२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘ख’ पदाधिकारीले निर्वाचन अन्तरक्रिया थाले


सगरमाथा अनलाईन

२८ माघ २०७८, शुक्रबार  

364
Shares

काठमाण्डौँ । नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘ख’का पदाधिकारीले स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम शुरु गरेको छ ।

सरकारले घोषणा गरेको २०७९ वैशाख ३० को निर्वाचनलाई लक्षित गरेर कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘ख’का पदाधिकारीले खुम्बु पासाङल्हामू गाउँपालिकाका काँग्रेसका नेता तथा कार्यकर्ताबाट अन्तरक्रिया थालेको हो । बिहीबार काठमाण्डौमा उपस्थित खुम्बुका कांग्रेस नेता तथा कार्यकर्ताको भेलामा आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन र संगठन सुदृढकीरणका सवालमा सुझाव संकलन गरिएको थियो ।

कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘ख’ सभापति कर्मा शेर्पाको अध्यक्षता तथा महाधिवेशन प्रतिनिधि आङछिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा खुम्बु कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टी नेतृत्व एकढिक्का भएर निर्वाचनमा होमिन, समयमै उम्मेदवार निधो गर्न, गाउँ केन्द्रीत निर्वाचनमूखि कार्यक्रम संचालन गर्न, कार्यकर्तालाई प्रशिक्षण दिएर परिचालन गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘ख’समितिका सचिव चन्द्र बहादुर खालिङ राईले जानकारी दिए ।

Sagarmatha

अन्तरक्रियामा महाधिवेशन प्रतिनिधि आङछिरिङ शेर्पाले अघिल्लो पटक पराजय भोगेका स्थानीय तहमा यो पटक कांग्रेसको जित सुनिश्चित गराउन आम पार्टी पंक्ति एकढिक्का भएर लाग्नुपर्ने आवश्यकता औँल्याए । क्षेत्रीय सभापति कर्मा शेर्पाले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउने गरि नेता कार्यकर्तालाई गाउँ फर्किन र संगठन विस्तारमा केन्द्रीत हुन निर्देशन दिए । उनले प्रदेशमा कांग्रेसलाई एक बनाएर लैजाने बताए । छिट्टै प्रदेश कार्यालय स्थापना गरेर पार्टीका गतिविधिलाई व्यवस्थित तवरले अघि बढाउने सभापति शेर्पाको भनाई थियो ।

कांग्रेस सोलुखुम्बुका जिल्ला सदस्य छिरिङसोनाम शेर्पा र आङकाण्डी शेर्पाले खुम्बुका समस्या समाधानमा जिल्ला नेतृत्वलाई ध्यानाकर्षण गराउने बताए । खुम्बु पासाङल्हामू कांग्रेसका उपसभापति फुनुरु शेर्पाले आन्तरिक तिक्ततालाई विर्सेर पार्टीलाई जिताउन अघि बढ्न आम कार्यकर्तालाई अपिल गरे । सचिव पासाङ शेर्पाले हरेक कार्यकर्ताले आफूलाई उम्मेदवार सम्झेर निर्वाचनमा होमिनुपर्ने बताए ।

अन्तरक्रियामा खुम्बु पासाङल्हामू कांग्रेसका निवर्तमान सभापति पेम्बाछिरी शेर्पा, वर्तमान उपसभापति ल्हाक्पानुरु शेर्पा, प्रदेश सह–सचिव आङसार्की शेर्पा, वडा सभापति पासाङदावा शेर्पा, लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, कांग्रेस नेता दावा फिन्जो शेर्पा, दोर्जी शेर्पा लगायतको बाक्लो उपस्थिती रहेको थियो । अन्य स्थानीय तहका कांग्रेस नेता तथा कार्यकर्तासँग पनि निर्वाचन केन्द्रीत अन्तरक्रिया क्रमश आयोजना गर्ने कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘ख’का सभापति कर्मा शेर्पाले बताए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : ४७ बजे