२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

हिमाल आरोहणमा खटिने सम्पर्क अधिकृतमाथि मन्त्रालयको कडा निगरानी

आधारशिविरमा आरोहणदलसँगको तस्वीर अनिवार्य


सगरमाथा अनलाईन

६ बैशाख २०७९, मंगलबार  

434
Shares

काठमाडौं । हिमाल आरोहणमा प्रत्येक आरोहण दलका लागि हरेक वर्ष मन्त्रालयले आफ्ना प्रतिनिधिलाई हिमालमा रेखदेख गर्न खटाउने गर्छ । तर, कतिपय सम्पर्क अधिकृतहरु आधारशिविर पनि नपुगी भत्ता तथा पारिश्रमिक बुझ्ने गरेको गुनासोकाबीच मन्त्रालयले यस वर्षदेखि उनीहरुमाथि कडा निगरानी गर्ने भएको हो ।

पर्यटन विभागले सन् २०२२ को वसन्त ऋतुमा पर्वतारोहण दलसँग खटिने सम्पर्क अधिकृतका लागि नियम जारी गरेको छ । जसअनुसार सम्पर्क अधिकृतले पर्वतारोहण दलको आरोहण सकिएपछि आधार शिविरमा आएपछि खिचेको तस्वीर वा भिडियो विभागमा हुने ब्रिफिङका क्रममा पेश गर्नुपर्ने भएको छ ।

सम्पर्क अधिकृतहरु पर्वतारोहण दलको अभियान समाप्त नभएसम्म हिमालबाट एक्लै फिर्ता हुन पाउने छैनन् । उनीहरु आधार शिविरमै बस्नु पर्ने छ । सम्पर्क अधिकृत सरकारका प्रतिनिधि भएका कारण हिमालमा आरोहीले पर्वतारोहणबाहेकका गैरकानुनी काम गरेको पाइएमा त्यसलाई रोक्नु पर्ने काममा समेत खटिनु पर्ने भएको छ । हिमालमा भइरहेका र आफ्नो दलका गतिविधि समेत विभागमा नियमित जानकारी गराउन सम्पर्क अधिकृतलाई विभागले सूचित गरेको छ । सामान्यतया एक पर्वतारोहण समूहका लागि एक जना र ठूलो समूह भएमा दुई वा सो भन्दा बढी सम्पर्क अधिकृति समेत खटाउने प्रचलन रहेको छ ।

Sagarmatha

आधार शिविर जान नसक्ने भए अग्रिम जानकारी दिनु पर्ने

पर्यटन विभागले पर्वतारोहण दलका साथ खटाएको अवस्थामा स्वास्थ्य वा अन्य कारणले आधार शिविरसम्म पुग्न नसक्ने भएमा त्यसको जानकारी विभागमा अग्रिम गराउनु पर्ने भएको छ । त्यस अवस्थामा विभागले वैकल्पिक कर्मचारी खटाउने भएको छ ।

खुम्बु क्षेत्रमा खटाइएका सम्पर्क अधिकृतले सगरमाथा प्रदूषण नियन्त्रण समितिको नाम्चे स्थित कार्यालय र आधार शिविरमा रहेको सो समितिको कार्यालयमा समेत अनिवार्य नाम दर्ता गर्नुपर्ने नियम समेत विभागले सम्पर्क अधिकृतमाथि ल्याएको छ । सगरमाथा यही क्षेत्रमा पर्छ । खुम्बु क्षेत्रबाहेकका हिमालमा खटिने सम्पर्क अधिकृतले भने हिमाल रहेको गाउँपालिका वा वडा कार्यालयबाट आफू त्यहाँ पुगेको प्रमाणित गर्ने कागजात ल्याएर पर्यटन विभागमा अनिवार्य पेश गर्नुपर्ने भएको छ ।

सगरमाथा क्षेत्रमा हुने क्रियाकलापको अनुगमन तथा सहजीकरण गर्न विभागले एक उच्चस्तरीय समिति समेत गठन गरेको छ । सम्पर्क अधिकृतहरुले उक्त समितिमा समेत गतिविधिहरुबारे जानकारी गराउनु पर्ने भएको छ । विभागले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ का प्रावधानको पालनामा समेत सचेत हुन सम्पर्क अधिकृतलाई सचेत गराएको छ ।

के हो सम्पर्क अधिकृतको काम ?

पर्वतारोहणका दौरान हिमालमा खटिने सरकारी कर्मचारीले पर्वतारोहण दललाई परेका समस्या सुल्झ्याउन भूमिका खेल्नु पर्छ । आरोहीको साथमा जाने भरियाले बोक्ने भारीको तौल तोकिएभन्दा बढी भए/नभएको सम्बन्धमा निरीक्षण र अनुगमनको जिम्मेवारी समेत सम्पर्क अधिकृतको हो ।

पर्वतारोहणको प्रगति तथा त्यसक्रममा कुनै घटना वा दुर्घटना भएमा त्यसको छिटो जानकारी विभागमा पठाउने जिम्मेजारी सम्पर्क अधिकृतको हो । हिमालमा सरदार, गाइड वा भरियाबीच मनमुटाव हुन नदिने र झगडा हुन रोक्दै पर्वतीय क्षेत्रमा शान्ति कायम गर्न सरकारी कर्मचारीले भूमिका खेल्नु पर्छ । हिमालमा गैरकानुनी काम भए त्यसलाई रोक्ने र सूचना सरकारलाई दिन समेत कर्मचारीले काम गर्नुपर्छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : १२ बजे