१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

स्थानीय तहमा उत्कृष्ट कार्य गरेबापत सोलुदुधकुण्डका मेयर शेर्पालाई सम्मान



काठमाडौं । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डका मेयर नाम्गेलजाङबु शेर्पा सम्मानित भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट कार्य गरे बापत मेयर शेर्पालाई पार्टीले एक कार्यक्रमबीच सम्मान गरेको हो ।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति समेत रहेका शेर्पालाई स्थानीय तहको सम्पूर्ण कार्यसम्पादनका आधारमा संस्थागत क्षमता स्व-मूल्यांकन तथा बित्तीय सुशासन जोखिम मूल्यांकनमा उत्कृष्ट कार्य गरेको पाइएकाले सम्मान गरिएको बताइएको छ । यत्तिमात्र होइन महालेखापरीक्षकको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनअनुसार देशैभरिका कम बेरुजु भएका स्थानीय तहलाई सम्मानित गर्ने क्रममा बिहीबार शेर्पा प्रमुख रहेको सोलुदुधकुण्ड नगरपालिकालाई सम्मानित गरिएको हो ।

नेपाली कांग्रेस स्थानीय तह समन्वय बिभागद्वारा पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित भएर उत्कृष्ट कार्य गर्ने सोलुदुधकुण्डसहित २१ स्थानीय तहलाई सभापति शेरबहादुर देउवा एवं पार्टीका पदाधिकारीले सम्मान गरेका थिए । पार्टी जिल्ला कार्यसमिति बैठक भएका कारण नगरप्रमुख शेर्पाको कार्यक्रममा उपस्थिति नरहेको सोलुदुधकुण्ड नगरपालिकाका एक प्रतिनिधिले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ५ : १२ बजे