काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण यही भदौ ३१ गतेदेखि सुरु हुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुने दुईदिने औपचारिक भ्रमणका लागि तयारी तीव्र गतिमा अघि बढाइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल भदौ ३१ गते दिल्ली पुग्नेछ र भोलिपल्ट १ असोजमै काठमाडौं फर्किने तालिका तय भएको छ। स्रोतका अनुसार यो सम्भवतः प्रधानमन्त्री ओलीको अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ।
यात्राको मुख्य उद्देश्य विगतका समझदारीहरुलाई निरन्तरता दिने, द्विपक्षीय सम्बन्धलाई थप सौहार्दपूर्ण बनाउने र केही नयाँ परियोजनाहरू अघि बढाउने रहनेछ। ‘ठूला एजेन्डाभन्दा पनि विश्वास अभिवृद्धि र प्रगति सुनिश्चित गर्ने विषयमा छलफल हुनेछ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो।

यसअघि नै नेपाल-भारत सीमा व्यवस्थापन समूहको गृहसचिव स्तरीय बैठक दिल्लीमै बस्नेछ। आज आइतबार सो बैठकको तयारीका लागि आन्तरिक बैठक राखिएको छ।
गत चैतमा थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र मोदीबीच छुट्टै भेटवार्ता भए पनि अपेक्षाकृत सौहार्दपूर्ण वातावरण बन्न सकेको थिएन। सो अवसरमा नेपाल-भारत सीमा र चुच्चे नक्साको प्रसंग उठेको बताइएको थियो। यसैले आसन्न दिल्ली भ्रमणको प्रारम्भमै यही विषय प्रमुख एजेन्डा बन्ने देखिएको छ।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरी संविधान संशोधन गरेको कदमले भारत असन्तुष्ट बनेको छ। संविधान संशोधनको अगुवाइ भने प्रधानमन्त्री ओलीकै कार्यकालमा, दलगत सहमतिमा भएको थियो। यसपटकको भ्रमणले यी संवेदनशील विषयमा कस्तो संवाद अघि बढाउँछ भन्नेमा सबैको चासो छ।







