काठमाडौं । नेकपा माओवादी केन्द्र दोलखाले सहीद र घाइते परिवारहरुलाई सम्मान गरेर बोत्ले स्मृति दिवस मनाएको छ । दोलखाको बोत्लेमा २०५९ साउन १८ गते राज्यपक्षबाट मारिएका १४ जनाको स्मरणमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा सम्मान गरेर स्मृति दिवस मनाएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी कार्यक्रममा बोल्दै दोलखाका नेता शंकर लामाले नेताका परिवार मारिँदा स्मृति दिवस मनाइरहने तर सर्वसाधारणको परिवार मारिँदा वास्ता नगर्ने भनेर गुनासो पोखेका हुन् ।
बोत्ले घटनामा पत्नी गुमाएका लामाले रुँदै भने, ‘सहीद पनि वर्गीय हुन लाग्यो । हुनेखाने, टाठोबाठो, अलि नेताहरुको परिवार यताउता भयो भने मनाइरहने । तर हामी जस्ता सर्वसाधारणको परिवार सहीद भएको वास्ता छैन ।’ उनले शहीदहरुको अभिलेख राखेर सबैको स्मृति दिवस मनाउन पार्टीलाई झकझकाउन यो कार्यक्रम आयोजना गरिएको बताए ।

‘देशैभरका सहीदहरुको यस्तो डकुमेन्ट बनोस् अनि शहीद परिवारको पनि अलिकति मन शान्त हुन्छ कि, घाइतेहरुको पनि अलिकति मन शान्त हुन्छ कि, त्यो भएपछि पार्टी पनि अलिकति सुदृढ हुन्छ कि,’ उनले भने ।
उनले पार्टीको आन्तरिक विवादले सहीद तथा घाइते परिवार र कार्यकर्ताहरुलाई पिरोलेको बताए । ‘पार्टीभित्र गुट उपगुट जुन छ, त्यसले पनि सहीद परिवारलाई पिरोलेको छ, कार्यकर्तालाई पनि पिरोलेको छ र आम जनतालाई पनि निराश बनाइरहेको छ ।’ उनले अहिले पार्टीमा विकेन्द्रीकरण नभई केन्द्रीकरणको आवश्यकता रहेको बताए । विगतमा पार्टी केन्द्रीकरण हुँदा नै जनयुद्ध सफल भएको उनले स्मरण गरे ।
उनले नेताहरुलाई पदको लोभी नबन्न सुझाव पनि दिए । उनले पार्टी कमिटी भद्दा भएको पनि रोश प्रकट गरे ।







