८ असार २०८३, सोमबार | Mon Jun 22 2026

उद्योगमन्त्री र अर्थमन्त्री पौडेलबीच बैठक, वस्तुमा गुणस्तर अनिवार्य गरिने


१८ श्रावण २०८२, आइतबार  

28
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलबीच चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी बैठक सम्पन्न भएको छ । आइतबार अर्थ मन्त्रालयमा सम्पन्न भएको सो बैठकमा विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ (Nepal Standards) अनिवार्य गर्ने र औद्योगिक लिज जग्गाको भाडा शुल्क घटाउने विषयमा छलफल भएको उद्योग मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा केही निश्चित वस्तुहरूमा मात्र गुणस्तर प्रमाणिकरण लागू गर्ने र क्रमशः सबै आयातित वस्तुहरूमा अनिवार्यरूपमा नेपाल गुणस्तर लागू गर्ने निर्णय गरिएको छ । सो निर्णयबाट बजारमा गुणस्तरीय वस्तुको पहुँच बढ्ने, उपभोक्ता संरक्षणमा टेवा पुग्ने र स्वदेशी उद्योगलाई पनि प्रोत्साहन मिल्ने विश्वास लिइएको छ ।
विशेष आर्थिक क्षेत्र प्राधिकरण (Sez) र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड मार्फत लिजमा दिइने जग्गाको लिज भाडा प्रतिवर्गमिटर ५० रुपैयाँबाट घटाएर २० रुपैयाँमा झार्ने विषय कार्यान्वयन गर्ने निर्णय गरिएको छ । सो कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समावेश छ । उद्योग प्रवद्र्धन तथा लगानी आकर्षण गर्ने उद्देश्यले गरिएको यो निर्णयले उद्योगी–व्यवसायीलाई सहज वातावरण निर्माण गर्ने अपेक्षा गरिएको सो
बैठकमा चालु आर्थिक वर्षका लागि विनियोजित बजेट तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक रणनीति, समन्वय र प्राथमिकताको विषयमा विस्तृत छलफल भएको छ ।
दुबै मन्त्रालयले आगामी दिनमा सहकार्य गर्दै औद्योगिक विकास, रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढीकरणका लागि आवश्यक नीतिगत तथा कार्यगत सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ११ : ४९ बजे