काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुको आयोजनामा काठमाडौंमा “नेपाली कांग्रेस भित्रको अपरिहार्यता, सहमति, सहकार्य र एकताको आजको आवश्यकता” शीर्षकमा विशेष कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा सोलुखुम्बु जिल्लाबाट काठमाडौंमा विभिन्न पेशा र व्यवसायमा सक्रिय रहँदै नेपाली कांग्रेस पार्टीमा आवद्ध नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूको उपस्थिति हुने बताइएको छ । कार्यक्रममा सहभागीबीच अन्तरक्रियासहित नेपाली कांग्रेसको राजनीतिमा सोलुखुम्बु जिल्लाबाट महत्वपूर्ण योगदान पुर्याएका अग्रज राजनीतिक व्यक्तित्वलाई सम्मान गरिने समेत कांग्रेसका जिल्ला सचिव युवराज घिमिरेले बताए ।
कार्यक्रममा पार्टीको तीन आधारभूत मूल्य राष्ट्रियता, लोकतन्त्र र समाजवाद पुनः स्मरण गराउँदै संगठनभित्र आन्तरिक सहमति र एकता बलियो बनाउन सन्देश प्रवाह गरिने सचिव घिमिरेले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहने छ । आयोजकले काठमाडौंमा बसोबास गर्ने सोलुखुम्बु कांग्रेस परिवारका सम्पूर्ण सदस्यलाई सम्मानपूर्वक सहभागी हुन आह्वान गरेको छ ।







