काठमाडौं । प्रतिनिधिसभा विघटन गरी सरकारले २१ फागुनमा तोकेको चुनाव गराउन निर्वाचन आयोगले तयारी थालेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले स्रोतसाधन सुनिश्चित गरिदिए आयोग निर्वाचन गराउन तयार रहेको बताए । सामान्यतया निर्वाचन गर्न १२० दिन चाहिने भन्दै भण्डारीले ६ महिनाको समयभित्र निर्वाचन गराउन आयोग तयार रहेको बताए ।
निर्वाचन प्रक्रियाअन्तर्गत व्यवस्थापन र मतदाता नामावली संकलनको काम भई नै रहेको उनले बताए । ‘सरकारले स्रोत साधन जुटाउनेबित्तिकै आयोगलाई अफ्ठेरो छैन,’ उनले भने ।

भण्डारीले निर्वाचन घोषणाको पत्र प्रधानमन्त्री र राष्ट्रपति कार्यालयबाट आएपछि गृह मन्त्रालयको समन्वयमा बाँकी प्रक्रिया अगाडि बढ्ने बताए । ‘आयोगको सरकारसँग सम्पर्क गर्ने गृह मन्त्रालय हो । गृहमन्त्री आउनुपर्ला। अनि सल्लाह हुन्छ । निर्वाचन तयारी गर्नु भन्ने होला,’ उनले भने, ‘तर निर्वाचन आयोग स्रोतसाधन जुटाउनेबित्तिकै अगाडि बढ्छ ।’
भण्डारीले फागुनमा एकतिहाइ राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिने र ३५ दिनअगावै अर्थात् माघ दोस्रो साता निर्वाचन गरिसक्नुपर्ने अवस्था रहेको पनि बताए । प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन सँगसँगै अगाडि बढाइने उनको भनाइ छ ।