काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले वर्तमान परिप्रेक्ष्यमा आदिवासी जनजातिको माग र मुद्दा नबिर्सन जेनजी पुस्तालाई आग्रह गरेको छ । नेफिनले आफ्ना सम्बद्ध घटक संगठनहरूसहित जेनजी पुस्तासँग आज काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रमका क्रममा त्यस्तो आग्रह गरेको हो ।

जेनजी पुस्ताले गत भाद्र २३ र २४ गते आयोजना गरेको आन्दोलन र त्यसपश्चात् मुलुकको राजनीतिक अवस्था परिवर्तन भएको सन्दर्भमा नेफिनले उक्त छलफलको आयोजना गरेको हो । छलफलका क्रममा बोल्दै नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले संविधानका उपलब्धिहरू रक्षा गर्न सचेततापूर्वक काम गर्नुपर्ने आवश्यकता रहेको कुरा औँल्याउनुभएको थियो । जेनजी युवाहरूको अभियानमा महासंघले पूर्ण रूपमा सहयोग गर्ने बताउँदै उहाँले आदिवासी जनजाति समुदायले हालसम्म प्राप्त गरेको अधिकार, संविधानका उपलब्धिको रक्षा गर्न, हालसम्मको त्रुटिलाई सच्याउनका निम्ति हामीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । अहिलेको युग सूचना र प्रविधिको युग रहेको स्मरण गराउँदै अध्यक्ष शेर्पाले सञ्चारमाध्यम र सामाजिक सञ्जालको शक्तिलाई बुझ्न जेनजी पुस्तालाई आग्रह गर्नुभएको थियो ।

जेनजी क्रान्तिमा आदिवासीको माग मुद्दा ओझेलमा पार्ने प्रयास गरिएको आभास आफूहरुलाई भएको बताउँदै महासंघ सम्बद्ध संघ संगठनका अगुवाहरूले जेनजी पुस्तालाई सचेत गराएका थिए ।


जेनजी पुस्ताका तर्फबाट उपार्जन राईले आदिवासीको मुद्दामा आफूहरू सचेत रहेपनि आदिवासी संघ संस्थाले निरन्तर मुद्दाबारे खबरदारी गरिरहनुपर्ने बताउनुभएको थियो । जेनजी पुस्ताको संख्यात्मक वृद्धि अनिवार्य रहेको बताउँदै उहाँले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, पहिचानका मुद्दा आफूहरूको बटमलाईन भएको प्रस्ट पार्नुभयो ।

कार्यक्रममा नेफिनका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, महासचिव दिवस राई, नेपाल मगर संघका सह-अध्यक्ष गंगा थापामगर, थारु कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरी, फोनिजका अध्यक्ष लक्की चौधरी, आदिवासी अगुवाहरू रणबहादुर थामी, हिलारीबन्धु भुजेल, अन्जना शेर्पा, आदिवासी जेनजीहरुबाट योगेन्द्र पुनमगर, राजु पुनमगर, सबनम लामा, पेमा लामा, सामना लावती, शुभलाल राई, छिरिङ शेर्पा, सफलता तामाङ, सुमन पुलामी, देछेन लामा, स्याङ्केन राई लगायतले धारणा राख्नुभएको थियो ।









