काठमाडौं । शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी(पहिरोका कारण देशभर सञ्चालनमा रहेका र निर्माणाधीन ३२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । निजी ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अनुसार सोमबार दिउँसोसम्म संकलित प्रारम्भिक तथ्यांक अनुसार तीन प्रदेशका १० जिल्लामा अवस्थित ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन् ।
तीमध्ये १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३ सय ३८ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन् ।
विगत वर्षहरूमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकोमा यस वर्ष इपान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता भई सोहीअनुसार पूर्वसूचना प्रेषित गरी मानवीय क्षति रोक्न सफाल भएको इपानका अध्यक्ष गणेश कार्कीले बताए । समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत आयोजनाहरुमा निकै कम मात्र भौतिक क्षति भएको पनि अध्यक्ष कार्कीले बताए ।

बाढी(पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाम जिल्लामा जलविद्युत् आयोजनाहरू पनि सबैभन्दा धेरै प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ ।
जसमा ४।५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७।८ मेगावाटको सुपरमाई, ९।६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७।६ मेगावाटको जोगमाई खोला, ५।२ मेगावाटको जोगमाई क्यासकेड, ६।२ मेगावाटको तल्लो जोगमाई, ९।५ मेगावाटको माईबेनी, ९।९ मेगावाटको माथिल्लो माई, ५।१ मेगावाटको माई सी क्यासकेड, ४।९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत् आयोजना इलाम जिल्लाका रहेका छन् ।
बाँकी दुई आयोजनामध्ये कोशी प्रदेशकै पाँचथर जिल्लामा रहेको १४।९ मेगावाटको हेवाखोला र बागमती प्रदेशमा रहेको ५२।४ मेगावाटको लिखु ४ जलविद्युत् आयोजना प्रभावित भएका छन् । हाल लिखु बाहेक सबै आयोजनाको उत्पादन बन्द रहेको छ ।







